सञ्चालनकाे तयारीमा चोभार बन्दरगाह

 काठमाडौँ । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहको भौतिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार अत्यधुनिक सुविधा सम्पन्न बन्दरगाह सञ्चालनमा आउनका लागि अब केही समय मात्र बाँकी छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिद्वारा निर्मित बन्दरगाहमा तीन डिपार्ट छन् । डिपार्टअनुसार भवन निर्माण कार्य सम्पन्न भइसकेका छन् । अहिले भवनभित्र बत्ति, धारा साथै रंगरोगनका कार्य चलिरहेको छ ।

दुई सय २८ रोपनी क्षेत्रफलमा पार्किङमा निर्माण कार्य भइरहेको हो ।  हाल यहाँ गेटको निर्माण गर्ने, सडक, प्रशासनिक भवन, क्यान्टिन ब्लग, बगैँचा, क्वारेन्टाइन भवन, पानी, ढल, आगलागी नियन्त्रण, सुविधायुक्त भण्डारणको व्यवस्था लगायत रहेका छन् ।

यहाँ पार्किङमा तीन सय ५० वटा ट्रक र ६ सयसम्म कन्टेनर अटाउनेछन् । सुख्खा बन्दरगाहमा तीनवटा प्रवेशद्वारको निर्माण गरिएको छ । बन्दरगाह हाताभित्र वृक्षारोपण कार्य सकिएको छ । 

सुरक्षाका दृष्टिले बन्दरगाहलाई चारैतिर घेरिएको छ । भण्डारण चेकजाँचका लागि तीन वटा भवन निर्माण सम्पन्न भइसकेका छन् । त्यसैगरी, ट्रकको तौल जोख्ने मेसिन जडानको काम पनि सकिएको छ ।

यो बन्दरगाह सञ्चालनमा आएसँगै आयात र निर्यातमा सहजता आउनेछ । आयात भएका सामान सोझै यही बन्दरगाहमा आएर जाँचपास हुने भएकाले पनि सामान आयातमा लाग्ने लागत र समय स्वतः घट्नेछ ।

हाल सीमा नाकामा रहेका भन्सार र बन्दरगाहले भन्सार जाँचपासको काम गर्दै आइरहेका छन् । सुख्खा बन्दरगाहको शिलान्यास २०७५ माघ ३ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट भएको थियो ।
१८ महिनामै सकाउने योजना रहेपनि स्थानीयको अवरोध, मुआब्जाको किचलो र विश्वव्यापी महामारी कोरोनाका कारण तीन वर्षसम्म पूरा हुन सकेको छैन । बन्दरगाह निार्मणको लागत एक अर्ब ६७ करोड रहेको छ ।

हिमाल सिमेन्ट खुलेको ३० वर्षमा बन्द भएपछि खाली रहेको जग्गामा सुक्खा बन्दरगाह निर्माण गरिएको हो । यो बन्दरगाह सञ्चालनमा आएपछि काठमाडौंलगायत नेपालका विभिन्न स्थानमा उत्पादन भएका सामग्री विदेश निर्यात गर्न सजिलो हुनेछ ।

सुख्खा बन्दरगाह भनेको के हो ?

देशभित्र उत्पादित एवं विदेशबाट आयात गरिएका सामानको चेकजाँच, भन्सार क्लियरेन्स र क्वारेन्टिन गर्ने ठाउँलाई बन्दरगाह भनिन्छ ।

समुद्र भएको स्थानमा समुद्री किनारा र समुद्र नभएको ठाउँमा सुख्खा बन्दरगाह राखिन्छ । नेपाल समुद्रसँग नजोडिएकाले नेपालमा सुख्खा बन्दरगाह निर्माण गरिएको हो ।

नेपालमा वीरगन्ज, विराटनगर, भैरहवा, काँकडभिट्टा र तातोपानीमा सुख्खा बन्दरगाह छन् ।

रसुवा, नेपालगञ्ज र चोभारमा सुक्खाबन्दरगाह निर्माण कार्य जारी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.