२२ सिटमा उपनिर्वाचन : एमाले र गठबन्धनको शक्ति जाँच हुने संकेत

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका प्रतिनिधि सभा र प्रदेश सभामा उपनिर्वाचन गर्न सरकारलाई अनुरोध गरेको छ । प्रतिनिधि सभाका ४ सिट र प्रदेश सभाका १८ सिटमा उपनिर्वाचन गर्नुपर्ने भएकाले मिति तोक्न निर्वाचन आयोगले सरकारलाई अनुरोध गरेको हो ।

राष्ट्रियसभाको चुनाव सकिएलगत्तै स्थानीय तहको निर्वाचन अघि नै प्रदेशसभाका १८ सिट र प्रतिनिधिसभाका ४ सिटमा उपचुनाव गर्न सरकारलाई निर्वाचन आयोगले ताकेता गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर निर्वाचन आयोगका पदाधिकारीले उपनिर्वाचनको मिति तोक्न ताकेता गरेको हो । प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएर चाँडै नै मिति तय गर्ने आश्वासन दिएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा १९ जिल्लाका जनताले प्रत्यक्ष रुपमा मतदान गर्नेछन् । उपनिर्वाचनबाट देशमा एमाले र गठबन्धन पक्षको शक्ति जाँच गर्ने प्रयास पनि हुनेछ । गठबन्धन दलले आगामी निर्वाचनसम्म चुनावी तालमेल हुने बताई रहँदा उपनिर्वाचनमा यसकाे परीक्षण हुने राजनीतिज्ञहरुको भनाई छ ।

ताप्लेजुङ, धनुषा, बारा, रौतहट, दोलखा, बागलुङ, रुपन्देही, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, दाङ, बाँके, दैलेख, कालीकोट, डोल्पा, सल्यान, अछाम, कैलालील गायतका जिल्लामा उपनिर्वाचन गर्नुपर्ने छ ।

उपनिर्वाचन हुने प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा कांग्रेसको सिट परेको छैन । कांग्रेसले जितेको कुनै पनि निर्वाचन क्षेत्रमा उपनिर्वाचन परेको छैन ।

उपचुनाव हुन लागेका २२ वटा सिटमा २०७४ सालको चुनावमा काँग्रेसले जितेको थिएन ।


माओवादीका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले जितेका ठाउँमा उपनिर्वाचन गर्नु पर्नेछ । माओवादी छाडेर एमाले प्रवेश गरेपछि कारबाहीमा पर्दा उनीहरुको सांसद पद गुमेको थियो ।

ताप्लेजुङ (ख), रौतहट ३ (ख), धनुषा १ (ख), बारा ३ (क), दोलखा १ (ख), बागलुङ १ (ख), रुपन्देही १ (ख) गुल्मी २ (ख), कपिलवस्तु २(ख), दाङ २ (ख), रुपन्देही ३ (क),
बाँके २ (क), दैलेख १ (क), दैलेख १ (ख), कालिकोट १ (क), डोल्पा (क), सल्यान १ (ख) र अछाम १ (ख) मा उपनिर्वाचनको तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.