चितवान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिखेर दुई दिनका लागि चितवनमा छन् । एमाले भरतपुर महानगरपालिका कमिटीको पहिलो अधिवेशन उद्घाटन गर्न पुगेका ओलीको चितवनमा दुई दिनसम्म कार्यक्रमहरुको कार्यतालिका छ । पहिलो दिन ओलीले महानगर कमिटीको पहिलो अधिवेशन उद्घाटन गरेका छन् ।
यस्तै ओलीले मदन–आश्रित शालिकमा माल्यार्पण र दासढुंगा परियोजना स्मारक पार्कको अवलोकन गरेका छन् । २०५० साल जेठ ३ गते कास्की जिल्ला सम्मलेन सकेर चितवन फर्किने क्रममा तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको यहाँ निधन भएको थियो । भण्डारी र आश्रित बा.अ।च. ८७९३ नम्बरको पजेरो गाडीमा सवार थिए । गाडीलाई एमाले पार्टी सदस्य एवम् तनहूँ जिल्ला सम्पर्क कमिटी सचिव अमर लामाले हाँकेका थिए ।
जेठ ३ को दिन पोखरामा सिमसिम पानी परिरहेको थियो । करिब ३ बजे पोखराबाट नारायणघाट लाग्दा गोरखा जिल्ला कमिटीका सचिव ऋषि कट्टेल पनि साथमा थिए भने वाचस्पति देवकोटा, सोमनाथ प्यासी र खगराज अधिकारीलगायतका नेताले पोखराबाट बिदाई गरेका थिए ।
जेठ ४ गते चितवनमा महिला प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । उक्त महिला प्रशिक्षण कार्यक्रममा पेश गरिने कार्यपत्र तयार गर्ने निर्णयसहित भण्डारी र आश्रित चितवन फर्किएका थिए ।
फर्कने क्रममा चितवनको दासढुंङगामा भण्डारी र आश्रित चढेको गाडी दुर्घटना भएको थियो । दुर्घटनामा दुबैको ज्यान गयो । नेताद्धय भण्डारी र आश्रितको सम्झनामा निर्माण भएको पार्कमा अवलोकन गर्दै अध्यक्ष ओलीले मदन–आश्रित शालिकमा माला अर्पण गरेका छन् । माला अर्पणपछि उनले एमालेको १०औं महाधिवेशनको समापन स्थल सौराहको पनि अवलोकन गरेका छन् ।





