स्वदेश आइपुगे प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँएका छन् ।

स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा कतार एयरवेजको उडानबाट दोहा हुँदै विहान काठमाडौं आइपुगेका हुन् ।

देउवालाई स्वागत गर्न गृहमन्त्री बालकृष्ण खाँडसहित मन्त्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

सम्मेलनमा भाग लिन देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित एक साताअघि १२ कात्तिकमा बेलायत प्रस्थान गरेका थिए ।

ग्लास्गोमा रहँदा प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्दै कार्बन उत्सर्जन कटौती गर्न हातेमालो गर्न जरुरी रहेको बताएका थिए ।

नेपालले सन् २०४५ सम्म उत्सर्जन शून्यमा झार्ने सुनाएकाे थियो । प्रधानमन्त्रीले जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि गरेको योगदानबापत कम विकसित देशहरुले क्षतिपूर्ति पाउनु पर्ने माग गरेका थिए ।

सम्मेलनका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र प्रमुखसँग साइडलाइन वार्ता गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.