कोरोना कहरपछि सूर्यवंशीले मच्चाएको तहल्का (समीक्षा)

निर्देशक : रोहित शेट्टी
ब्यानर : धर्मा प्रोडक्शन
लेखक : कंचित बेड्रे/विधी घोड्गान्डकर/ युनुस सजावल
स्टार : अक्षय कुमार/ कट्रिना कैफ/अजय देवगन/रणवीर सिंह
रेटिङ : २.५/५

धर्मा प्रोडक्शन फेरि पनि बलिउडका लागि प्रतिष्ठित र लोकप्रिय ब्यानरको रुपमा प्रमाणित भएको छ । त्यसको पछिल्लो उदाहरण हो, फिल्म सूर्यवंशी । रोहित शेट्टी लगातार प्रहरी पात्रसँग बढी झुम्न रुचाउँछन् । फिल्म सिंघम र सिम्बापछि फेरि पनि उनी सोही पात्रमा रुचाएको प्रष्ट सूर्यवंशीले दिन्छ । कथाअनुसार सिंघम, सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशी फरक छन् । तर प्रस्तुतिको हिसावले यो धर्मा प्रोडक्शनका लागि रोहित शेट्टीको निरन्तर सिरिज हो । पात्र प्रवृत्ति, स्टाईलिस्ट र कथा वाचन शैली धर्मा प्रोडक्शनको प्रमुख विशेषता हो । त्यसमा पनि निर्देशक रोहित शेट्टी त्यसका लागि अब्बल फिल्म मेकर हुन् ।

निर्देशक शेट्टी लगातार प्रहरी पात्रमा बन्ने फिल्मका लागि सफल निर्माता/निर्देशक साबित भइरहेका छन् । धर्मा प्रोडक्शनका लागि रोहित शेट्टीको सूर्यवंशी चौथौं सिरीज हो । अघिल्लो सिरीजहरु भन्दा यो अलि पृथक छ । किनकी यसमा अक्षयकुमार छन् । अक्षयकुमार पात्र आफैमा एउटा विशेषता हो । जुन सूर्यवंशीमा पनि प्रमाणित छ । समग्रमा फिल्ममा धेरै कमजोरीहरु छन् । कमजोरीको बीच पनि फिल्मको एक्शन डिजाईन र सिरिज वाईज पात्रहरुको केमेष्ट्रि पक्ष बलियो छ । यसको कारण रोहित शेट्टी नै हुन् । किन कि सूर्यवंशीमा शेट्टी निर्माता र निर्देशक मात्र होइनन् एक्शन डिजाइनर पनि हुन् ।

फिल्मको कथ्य शैलीमा भन्दा मनोरञ्जनमूलक एक्शन डिजाइन् र पात्र विशेषमा फिल्म अब्बल छ । यस अघिका सिरिजहरुमा पनि सोही डिजाइनका एक्शनहरु नभएको भने होइन । तर अक्षयकुमार सँगको प्रस्तुति पहिलेको सिरिजभन्दा बढी मनोरञ्जनमूलक छ । सन् १९९३ मा मुम्बईमा श्रृङ्खलाबद्ध बम विस्फोटन हुन्छ । त्यसको परिघटनाहरु निरन्तर जारी रहन्छ । त्यस परिघटनाहरुलाई रोक्न भारतीय पुलिसले एउटा मिशन तयार गर्छ । त्यसको नेतृत्व सूर्यवंशी (अक्षयकुमार) ले गरेका छन् । यसैको सेरोफेरोमा सूर्यवंशीको कथा घुमेको छ । मुम्बईमा भएको श्रृङ्खलाबद्ध बिस्फोटनपछि पनि पाकिस्तानबाट भारत छिरेर विभिन्न शहरमा लुकेर बसेका आतंकवादीहरुले गर्ने गतिविधि र योजनालाई विफल बनाउन सूर्यवंशी निरन्तर लागि पर्छन् ।

मुम्बई ब्लाष्ट अघि अवैध तरिकाले भारत छिरेको १ टन आरडीएक्स मुम्बई विस्फोटनमा ४ सय किलो प्रयोग भएको अपुष्ट तथ्य त खुल्छ । तर बाँकी ६ सय किलो कहाँ कसरी लुकाइयो वा कसरी प्रयोग हुन्छ भन्ने विषय माथी कथाले नयाँ रुप बनाउँछ । पाकिस्तानबाट आएर लुकेका आतंकवादीहरुले लुकाइएको ६ सय किलो आरडीएक्सको प्रयोग गरेर पुनः भारतको विभिन्न शहरमा हमला गर्छन् की भन्ने आंशकमा सोही आरडीएक्सको खोजीमा सुयंवंशी केन्द्रित छ । भारतमा लुकेका पाकिस्तानी आतंकवादीहरुको समूहलाई ओमर हाफिज (ज्याकी श्राफ) का छोरा रियाज हाफिज (अभिमन्यु सिंह) को निर्देशनमा परिचालित गरेको हुन्छ । सोही परिचालन भएका आतंकवादी र आरडीएक्श हमलाबाट मुम्बई जोगाउनु फिल्मको केन्द्रीय विशेषता हो ।

मुम्बई ब्लाष्टमा संलग्नमध्ये मुम्बई पुलिस अफिसर कवीर श्राफ (जावेद जाफरी) को प्रयासको बाबजुद फरार बिलाल अहमद (कुमुद मिश्रा) २७ वर्षपछि भारत आउनु र उनकै माध्यमले सूर्यवंशी आतंकवादीहरुसम्म पुग्न कथाले रोचक प्रस्तुति दिन्छ । आतंकवादीहरुले मुम्बईको सात ठाउँमा बिस्फोटको तयारी गरिरहेको विवरण पाएपनि त्यसको नियन्त्रणका लागि सूर्यवंशी मात्र काफी छैन । त्यसपछि देखिन्छन् सिम्बा (रणवीर सिंह) र सिंघम (अजय देवगन) । तीनै जनाको मनारेञ्जनमूलक केमेष्ट्रिसहितको एक्शनले दर्शकलाई अन्तिममा सूर्यवंशी हेर्दाको खास मज्जा दिन्छ ।

मुम्बई केन्द्रीत सूर्यवंशी बेला बेला बंैकक पुग्छ । कहिले कार, हेल्किप्टर र स्की डुङ्गाको स्टन्टसम्म सूर्यवंशीको प्रस्तुतिले फिल्म हेर्दाको क्षणलाई रोमाञ्चक बनाउँछ । परिवारको मायाभन्दा पनि राष्ट्र प्रेम राख्ने प्रतिवद्ध र निडर सूर्यवंशी र उनका पुलीस समूह पाकिस्तानी आतंकवादीहरुसँग लड्दा लड्दै फिल्मको कथा पूर्ण हुन्छ ।

फिल्मको सुरुवातमा सूर्यवंशीलाई पागलको नाम दिएपनि पुरा फिल्ममा उनी कतै पागल लाग्दैनन् । बरु उनी आफ्नो ड्युटीमा गम्भीर लाग्छन् । फिल्ममा कट्रिना कैफको प्रेम र रोमान्सलाई पनि ठाउँ दिइएको छ । गोली लागेको सूर्यवंशी उपचारका लागि डक्टर रिया (कट्रिना) सँग पुग्नु र रियाले उनको उपचार पश्चात उनीसँग माया र बिहे गर्नु फिल्मको लभ सिक्वेन्स मान्न सकिन्छ । कट्रिनाको कामूक नृत्य पनि फिल्ममा समावेश छ । पुरानो गीत 'टिप टिप वर्षा' बोलको उक्त गीत फिल्मको आवश्यकता भने हैन तर आकर्षणको रुपमा प्रस्तुत गरिएको छ ।

फिल्मले अन्तमा सन्देश पनि दिएको छ । व्यक्ति र कर्मभन्दा धर्म ठूलो नहुने सन्देश फिल्मले दिएको छ । एउटै धर्म मान्ने फरक फरक मान्छेमा देशप्रेम फरक हुने सन्देशलाई गहिरो रुपमा प्रस्तुत गरिएको छ । सांस्कृतिक सम्पदा आसपास हमला हुन लाग्दा मुस्लिमहरुले गणेश मन्दिरको मुर्तिलाई बचाउन र सार्न सहयोग गरेको प्रस्तुतिले सबै मुस्लिम र हिन्दूलाई देश प्रेमको आदर्श सम्झाउँछ ।

अन्तमा फिल्मले नयाँ सिरिजको पनि विज्ञापन गरेको छ । धर्मा प्रोडक्शनले फिल्ममा बाजिराव सिंघम चाँडै आउँदैछ भन्ने सन्देश दिएको छ । आतंकवादीको लिडर भनिएको जैकी श्राफले लडाइ सकेको छैन निरन्तर छ र रहनेछ भन्ने डाइलग बोलेका छन् । त्यसमा अजय देवगनले बाजिराव सिंघम ध्वस्त पार्न छिट्टै आउँदैछ भनेका छन् । फिल्मको एक्शन पक्षसँगै पाश्र्व संगीत पक्ष निकै बलियो छ । पाश्र्व संगीतले फिल्मका कतिपय फिक्का प्रस्तुतिलाई पनि मसलेदार बनाइदिएको छ । सिंघम, सिंघम रिटर्न्स र सिम्बा रुचाउनेका लागि सूर्यवंशी अझ रोमान्चक बन्नेछ । अन्यथा फिल्म टाईम पास मात्रै हुनेछ । अन्तत सूर्यवंशी दिमागमा बुझ्न र केही सिक्नको लागि भन्दा पनि रमाईलोको लागि उपयुक्त छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.