काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । मंगलबार काननु व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीशले सो बताएका हुन् । सो क्रममा उनले संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर सर्वोच्च अदालत सञ्चालन गर्ने बताए।
अभियानका संयोजक अधिवक्ता शिव अर्यालले न्यायपालिकामा देखिएको संकटबारे प्रधानन्यायाधीशले आफू जानकार रहेको बताएको उल्लेख गरे ।
'मलाई नेपालको संविधान र न्याय प्रशासन ऐनमा जुन अधिकार छ त्यो प्रयोग गरेर बेन्च सञ्चालन गर्छु भन्नुभएको छ,' प्रधानन्यायाधीश जबराको कुरा उल्लेख गर्दै अर्यालले भने, 'न्यायपालिकामा संकट आएको कुराप्रति जानकार छु । संविधानबमोजिम मेरो नियुक्ति भएको हो । संविधानबमोजिम नै बहिर्गमन हुन चाहन्छु भन्ने उहाँको कुरा थियो ।'
प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसक्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ गतेदेखि इजलास बहिस्कार गर्दै आएका छन् ।