काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ दिएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारअस्ताउँदो सूर्यलाई अर्घ दिएर छठीमाईंको पूजाअर्जना गरेकी हुन् । भण्डारी कमलपोखरीअघि गौरीघाट पनि पुगेकी थिइन् ।
छठ मुख्यतया: मधेसी समुदायमा मात्रै मनाउने गरिए पनि पछिल्लो समय मुख्य-मुख्य सहरमा मनाउन थालिएको छ । त्यसमा पनि राजधानी काठमाडौंमा नदीका किनारमा छठ मनाउनेहरुको भीड लाग्ने गर्छ । छठ पर्वमा मुख्यतया: सूर्यको पूजाअजर्चना गरिन्छ ।
छठ पर्वमा व्रत बसी सूर्यको उपासना गरे चर्म रोगनिको हुने, सोचेको पुग्नेजस्ता विश्वास रहेका छन् ।
छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।
कातिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।
लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।