सर्वोच्चमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

सर्वोच्चमा बिहीबार न्यायालय परिसरमा सुरक्षाकर्मी र कानुन व्यवासयीबीच भएको धकेलाधकेलपश्चात् आज साढे १० बजेका लागि आन्दोलन तय गरेका थिए ।

बिहीबार भएको झडपमा परी केही कानुन व्यवासायी घाइते भएका थिए । 

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वोच्च अदालत क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

बारले बिहान १० बजेदेखि सर्वोच्चको गेटमै धर्ना दिने भनेपछि बिहानै प्रहरी परिचालन गरिएको हो । सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीपक रेग्मीले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी सुरक्षा सतर्कता बढाइएको बताए । सुरक्षाको व्यवस्थापन काठमाडौं परिसरले गरिरहेको हो ।

हरेक वृत्तबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली रामशाहपथ क्षेत्रमा आइरहेको छ ।

बारको बिहीबारको धर्नामा प्रहरी हस्तक्षेप भएपछि विवाद उत्कर्षमा पुगेको हो । शुक्रबार बिहान १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जराबलाई ‍प्रवेश गर्न नदिन धर्ना दिइने बार महासचिव लीलामणि पौडेलले बताए ।

बारले नागरिकलाई आन्दोलनमा सहयोग गर्न आह्वान गरिसकेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.