प्रधानमन्त्री देउवाको बलमा बाबा रामदेवले खोले अवैध रुपमा टेलिभिजन

काठमाडौं । नेपालमा टेलिभिजन खोल्दा कम्तिमा कानूनी प्रक्रियाहरु पुरा गर्नु पर्दछ । तर, बाबा रामदेवको पतञ्जली योग पिठले प्रधानमन्त्री शेरबहादुर देउवाको बलमा अवैध रुपमा नेपालमा टेलिभिजन खोलेका छन् ।

बाबा रामदेवले खोलेको टेलिभिजनको उद्घाटन प्रधानमन्त्री देउवाले गरेका छन् । त्यस लगतै नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ । राष्ट्रियताको ख्याल नै नगरी प्रधानमन्त्री सो कार्यक्रममा सहभागी भएको भन्दै महासंघले आलोचना गरेका हाे ।

प्रधानमन्त्री देउवासँगै माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल समेत सहभागी भएर पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गरेका थिए ।

नेपालको प्रचलित कानूनले सञ्चार माध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा भारतको पतञ्जली योग पिठले टेलिभिजन खोल्नु कानूनको ठाडो उल्लंघन भएको महासंघका महासचिव रोशन पुरीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुल्ला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यमहरूलाई राखेको कानूनी प्रवन्धप्रति महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तिमा भनिएको छ ।

‘दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन गर्न लागिएकाले महासंघ सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियामावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका स्मरण गराउन चाहन्छ ।’

स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँच पुग्ने गरी सञ्चार क्षेत्रमा विदेशी लगानी आएको भन्दै महासंघले नेपालको राष्ट्रियता, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पार्न सक्ने प्रभावप्रति सबै गम्भीर र संवेदनशील हुन आवश्यक रहेको निष्कर्ष समेत निकालेको छ ।

महासंघले कानून विपरीत सञ्चार क्षेत्रमा विदेशी लगानी रोक्न र स्वदेशी लगानीका सञ्चार माध्यमलाई प्रतिस्पर्धात्मक तथा व्यावसायिक रूपमा विकास गर्ने वातावरण निर्माण समेत सरकारसँग आग्रह गरेको छ ।

प्रधानमन्त्री देउवा नै यस्तो कार्यमा संलग्न भएको भन्दै चर्को आलोचना भएको छ । दर्ता नै नभएको अवैध रुपमा संचालनमा आएको टेलिभिजनको उद्घाटनमा देशको प्रमुख कार्यकारी व्यक्ति प्रमुख अतिथि भएर उद्घाटन् गएको भन्दै देउवाविरुद्ध चर्को आलोचना भएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.