महेश बस्नेतले गरे सचिवमा उम्मेदवारी घोषणा (घोषणाकाे आधारसहित)

काठमाडाैँ । नेकपा एमालेका नेता महेश बस्नेतले आगमी १० औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन् । उनले मध्यपुर थिमिको सम्पर्क कार्यालयबाट आफ्नो उम्मदेवारी घोषणा गरेका हुन् ।

उनले आफ्नो उम्मेदवारी घोषणाको ११ बुँदे आधार प्रस्तुत गरेका छन् । 

१. जनयुद्धका नाममा माओवादीले एमालेका तीन सय कार्यकर्ताको हत्या गरेको र पछि वाइसिएलका नाममा आतङ्क मच्चाएको बेला यूथ फोर्स बनाएर देशैभरी युवा परिचालन गरेर कार्यकर्ताको संरक्षण गरेको ।

२. माधव नेपालको असक्षम नेतृत्वले एमाले तेस्रो दलमा खुम्चिएका बेला देशैभरी युवा अभियान चलाएर एमाले कार्यकर्ताको मनोबल उकास्ने काम गरेको ।

 

३. माधव नेपाल र झलनाथ खनालको नेतृत्वले पार्टीलाई विघटनको दिशातिर लगेको बेला केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर एमालेलाई पहिलो पार्टी बनाउनु पर्छ भन्ने अभियानको नेतृत्व गरेको ।

 

४. पार्टी भित्र र बाहिर केपी ओलीलाई संस्थागत गुट बनाएर असफल बनाउन खोज्दा रक्षा कवचको रूपमा काम गरेको । सो गरे बापत अनेक झुट आरोप व्यहोरेर अपमानित हुनु परेको ।

५. संविधान निर्माणको चरणमा सुशील कोइराला प्रधानमन्त्री हुँदा १३ महिना उद्योग मन्त्रालय सम्हालेर जीर्ण उद्योग क्षेत्रमा नयाँ उत्साह ल्याएको ।

६. एमालेको संगठन कमजोर भएको भक्तपुर जिल्लामा २०७४ को संघीय निर्वाचनमा काँग्रेसलाई ३६ हजार मत ल्याएर दोब्बर मतले पराजित गरेको । पटकपटक मन्त्री बनाउने तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीको इच्छा कतिपय साथीहरूले पूरा गर्न नदिए पनि सदनभित्र सरकारको पक्षमा सशक्त भूमिका निर्वाह गरेको ।

७. भक्तपुरलाई विकास निर्माणको नमुना जिल्लाको रूपमा प्रस्तुत  गरेको ।

८. राजनीतिको सम्भावित परिदृश्यलाई बुझेर नेकपा कालमा ‘नेकपा एमाले’ नामको दल दर्ता गरेर एमाले ब्राण्ड बचाएको ।

९. पुस ५ पछाडि सत्ता र शक्तिभित्र रहेका नेताहरू मौन बसेका बेला देशैभर युवा परिचालन गरेर अध्यक्ष केपी शर्मा ओलीको कदम सही भएको माहौल सृजना गरेको ।

१०. पार्टी हितका लागि अध्यक्ष केपी शर्मा ओलीको निर्देशन जस्तोसुकै जोखिम मोलेर पनि पूरा गरेको ।

११. मधेसमा पार्टी अध्यक्ष क केपी शर्मा ओली र एमालेलाई निषेध गर्ने दुष्प्रचार गरिरहँदा मधेसका युवा समेटेर एमाले र केपी कमरेडको पक्षमा माहौल सिर्जना गर्न लागेको । हाम्रो पार्टीको सरकार मजबुत बनाउन मधेसवादी दलसँगको संवाद र सहकार्यमा प्रभावकारी भूमिका खेलेको । 

उनले उम्मेदवारी घोषणा गर्दा भिम रावललाई अध्यक्ष पदकाे उम्मेदवारी फिर्ता लिन पनि आग्रह गरेका छन् । अध्यक्ष ओली सर्वसहमतिकाे नेताकाे रुपमा मानिएकाेले रावललाई उम्मेदवारी फिर्ता लिन उनले आग्रह गरेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.