‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ रियालिटी शो घोषणा

काठमाडौं । ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ रियालिटि शो इमेज एचडी मार्फत प्रशारण गर्न इमेज च्यानल र भ्वइस स्टार नेपालबीच प्रशारण सम्झौता भएको छ । यस शोमा नेपाली सुगम संगीतमा ख्यातिप्राप्त गायक तथा संगीतकार निर्णायकको भूमिकामा रहनेछन् ।

विभिन्न रियालिटी शोमा भाग लिएर पनि आफ्नो सांगीतिक उचाइलाई उचित स्थान दिन नसकेका गायक गायिकालाई सहभागी हुन बिशेष प्रोत्साहन दिने उक्त च्यानलले जनाएको छ ।
साथै दूरदराज तथा राजधानी बाहिर रहेर पनि सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेकालाई छनौट प्रक्रियामा उचित स्थान दिइने भएको छ ।

कार्यक्रम छनौटको पहिलो चरण डिजिटल फर्म्याटबाट अडिशन लिइनेछ । पौष महिनाको पहिलो हप्ताबाट शुरु हुने यो प्रक्रिया एक महिनासम्म रहनेछ । उक्त छनौट प्रक्रियापछि माघ महिनाको दोश्रो हप्ताबाट नेपालका विभिन्न शहरहरुमा भौतिक उपस्थितिमा अडिशनको घोषणा हुनेछ । यी दुवै प्रक्रियाबाट छनौट भएका प्रतिस्पर्धीबीच कार्यक्रमको २५ शृंखलामा रोचक भिडन्त हुनेछ । ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ को पुरस्कार राशि भने २५ लाख रहेको छ ।

भ्वाइस स्टार नेपाल प्रालिले इमेज च्यानल एचडिमा प्रशारण गर्ने उद्देश्यका साथ “ नेपाल्स सिङ्गिङ्ग सुपरस्टार“ निकट भविष्यमा सञ्चालनमा ल्याउने जनाएको छ ।

दर्शकमाझ “ नेपाल्स सिङ्गिङ्ग सुपरस्टार“को प्रचार अभियानका लागि डिजिटल मिडियामा छिट्टै “गेस द जजेज“ डिजिटल क्याम्पेन शुरु हुने बताइएको छ । एक महिना संचालन हुने यस क्याम्पेनका विजेताले विभिन्न पुरस्कार जित्न सक्नेछन् । यस क्याम्पेनको बिजेता तथा जजहरुको घोषणा एक बिशेष कार्यक्रमको आयोजनाबाट हुनेछ ।

यस कार्यक्रमको भोटिंग पार्टनर सजिलो पे रहेको छ , साथै यस कार्यक्रमको मार्केटिंगको जिम्मेवारी सुश्री मिडियाले लिएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.