काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालय विवाद समस्या चाँडै निस्किने बताएका छन् ।
शुक्रबार नेपाल बार एसोसिएसनका पदाधिकारीसँग भएको छलफलका क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशबारे छलफलका क्रममा बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, बारका पदाधिकारी, वरिष्ठ अधिवक्ताहरू दमननाथ ढुंगाना, बद्रिबहादुर कार्की, प्रेमबहादुर खड्का, शम्भु थापा, रमन श्रेष्ठ, हरिहर दाहाल, सतीशकृष्ण खरेललगायत सहभागी थिए ।
नेपाल बारका महासचिव लिलामणि पौडेलले कानुन व्यवसायीका कुरा सुनेपछि प्रधानन्यायाधीशका विषयमा आफू गम्भीर रहेको प्रधानमन्त्रीले बताएको जानकारी दिए । 'प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनममा रहेका दलहरूसँग सल्लाह गरेर छिट्टै निकास हुने कुरामा विश्वास दिलाउन चाहन्छु भन्नुभएको छ,' पौडेलले भने ।
प्रधानन्यायाधीशको बहिर्गमनको विकल्प नभएको कुरा बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले राखेको पौडेलले बताए ।