काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको राजीनामा स्वीकृत भएको छ ।
सभापतिको गृहजिल्ला डडेल्धुराको अधिवेशनको सन्दर्भमा दबाब दिएपछि यदवले दिएको राजीनामा देउवाले आइतबार स्वीकृत गरेका हुन् ।
डडेल्धुरामा निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहको बहिष्कारका बीच जिल्ला अधिवेशन सम्पन्न भएको छ । मल्ल समूहले उक्त अधिवेशन मान्य नभएको भन्दै पुन: अधिवेशन गराउन दबाब दिएको छ ।
मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन सुरु गरेको मल्ल समूहले केही दिनअघि यादवमाथि भौतिक आक्रमणको धम्की दिएको थियो । मल्ल समूहको धम्कीपछि यादवले संयोजकबाट राजीनामा बुझाएर पार्टी कार्यालय जान छोडेका थिए ।
यादवले काममा फर्किन नमानेपछि सभापति देउवाले उनको राजीनामा स्वीकृत गरेर निर्वाचन समितिका वरिष्ठ सदस्य गोपालकृष्ण घिमिरेलाई संयोजक तोकिएको छ ।