काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनलाई सर्वसम्मत गर्ने एमालेले लक्ष्य राखेपनि त्यो सफल हुन सकेन । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै भीम रावलको पनि अध्यक्षमै उम्मेद्वारी परेपछि निर्वाचन प्रक्रियाबाट महाधिवेशनले नेतृत्व चयन गरेको हो ।
घनश्याम भुषालले उपाध्यक्षमा उम्मेद्वारी नछोडेपछि अरु पद र केन्द्रीय सदस्यमा पनि निर्वाचन भयो । निर्वाचनमा नेता रावल र भुषालले लजास्पद हार व्यहोर्नु पर्यो । नेता रावल र घनश्याम भुषालले एमाले महाधिवेशनमा हार्नुको धेरै कारणहरु छन् । जसमध्ये क्विक नेपालले चार कारण प्रस्तुत गरिएको छ ।
१. नेतृत्वसँग सम्बन्ध बिग्रनु
नेकपा एमालेबाट माधव कुमार नेपालसहितका नेताहरुले समानन्तर गतिविधिहरु संचालन गरिरहँदादेखि नै नेता भीम रावल र घनश्याम भुषालको सम्बन्ध केपी ओलीसँग राम्रो हुन सकेको थिएन । त्यस लगतै १० बुँदे कार्यन्वयनसँगै फर्कीएपछि पनि यी दुई नेताले केपी ओलीसँग सम्बन्ध राम्रो बनाउन सकेनन् । बरु औपचारिक कार्यक्रमहरुमा नेतृत्वको समिक्षा गरिरहे । विविध कारण नेतृत्वसँग सम्बन्ध विस्तार गर्न नसक्दा नेता रावल र भुषालले हार व्योहोर्नु परेको हो ।
२. १० बुँदेपछि शक्ति क्षय
नेकपा एमालेमा १० बुेँदे कार्यनवयनसँगै नेता भीम रावल र घनश्याम भुषालको शक्ति क्षय हुदै गएको थियो । दुबै नेतालाई पार्टीको विशेष जिम्मेवारीहरु दिइएन । भएकै जिम्मेवारीबाट बञ्चित गरियो । १० बुँदे कार्यन्वयनसँगै फर्केका नेताहरु केपी ओलीसँग नजिक हुँदा रावल र भुषालको थप शक्ति क्षय भएको हो ।
३. बढि ओलोचनात्मक धारणा
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक घेराबन्दीमा पर्दा आफ्नै पार्टीको नेतृत्वलाई लिएर बढि आलोचनात्मक धारणा र ओलीलाई गाली गर्नेमा नेता भीम रावल र घनश्याम भुषाल प्रमूख मानिन्छन् । आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न सक्रिय भुमिका रहेको भन्दै पार्टीकै नेताहरु रावल र भुषालको विरुद्धमा रहँदै आएका थिए । यसै कारण पनि नेता रावल र भुषालले निर्वाचन हारेका हुन् ।
४. पूर्वमाओवादीबाट आएकाहरुको समायोजनमा असहमति
तत्कालिन नेकपा पार्टीलाई अदालतले बैधानिकता नदिएपछि पार्टी एमाले र माओवादीमा परिणत भयो । त्योसो हुदाँ सांसद पद नै छाडेर एमालेमा समाहित भएका नेताहरु राम बहादुर थापा बादल, टोप बहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु शाहलगायतलाई जिम्मेवारीसहित पार्टीमा स्थान दिँदा नेता भीम रावल र घनश्याम भुषाल असन्तुष्ट थिए । पार्टीलाई संकट परेको बेला सांसद र मन्त्री पदलाई बेवास्ता गर्दै एमालेमै रहेका नेताहरुलाई जिम्मेवारी दिँदा रावल र भुषाल असन्तुष्ट रहेपछि उनीहरुविरुद्ध अन्य नेताहरु विरोधमा देखिए । त्यसकै कारण पनि रावल र भुषालले चुनाव हारे ।
नेता रावल र भुषालको केन्द्रीय सदस्य पद भने कायम छ । मतको आधारमा दुबै जना केन्द्रीय सदस्यमा निर्वचित भएका छन् । तर दुबै नेताहरुले आफ्नो उम्मेद्वारी केन्द्रीय सदस्यमा नरहेको भन्दै केन्द्रीय सदस्य पद अस्विकार गरेका छन् । अब दुबै नेतालाई पार्टी भित्र जिम्मेवारी र शक्ति सन्तुलनमा निकै चूनौती हुनेछ ।
दुबै नेताले कि त पार्टीको निर्णयलाई आत्मसात गरेर अघि बढ्नुपर्नेछ । अन्यथा पार्टीको नृतृत्व विरुद्ध आलोचनात्मक धारणाहरु राख्दै पार्टीबाट निस्केर माधव कुमार नेपालसँगै समाहित हुने अवस्था सिर्जना हुनेछ ।