काठमाडौं । नेपाल राप्रपाका भावी अध्यक्षका प्रत्यासी राजेन्द्र सिङ्देनले कमल थापालाई अध्यक्षको दौडबाट बाहिरन सुझाव दिएका छन् ।
राप्रपा सञ्चालनका लागि फरक ढंगले सोच्नुपर्ने बेला भएको बताएका हुन् । अग्रजको भूमिका नसकिएको बताउँदै नेतृत्व हस्तान्तरण गर्दै उनले प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्दले पार्टी निर्माणका लागि अहम भूमिका खेलेको बताउँदै कमल थापालाई पनि सोही भूमिका खेल्न आह्वान गरे ।
उनले राप्रपाको मुद्दा सडकमा सर्वाधिक लोकप्रिय बनेको, मानिसहरु हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा रहेको तर यसका बाबजुद राप्रपा कहाँ छ भनेर प्रश्नसमेत गरे । ‘एकीकरणको दुई वर्ष राप्रपाको गतिविधि शून्य भयो । राष्ट्रिय राजनीतिबाट बेपत्ता भएजस्तो छ,’ उनले भने, ‘दुई वर्ष पार्टीको गति, चल्ने शैली हेर्दा यही ढंगले अघि बढ्दा के हुन्छ भन्ने सबैलाई थाहा छ ।’ उनले एक पटक पार्टीको कार्यकारिणी भूमिका फेर्नुपर्ने जरुरी भएको भन्दै पार्टीका अग्रजहरुलाई परिवर्तनको पक्षमा उभिन आग्रहसमेत गरे ।
हाल कायम रहेको तीन अध्यक्षलाई विस्थापित गर्दै एकल अध्यक्ष स्थापित हुने भएकाले राप्रपाको महाधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ।