काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको नारा राजा आऊ देश बचाऊ नभएर 'जनता आउ राजा ल्याउ देश बचाउ' भन्ने भएको बताएका छन् । बुधबारबाट काठमाडौंमा सुरु भएको राप्रपा महाधिवेशनलाई संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
सो क्रममा उनले नयाँ र पुरानो पुस्ताको भनेर कसैले पनि पार्टीमा विभाजनको रेखा कोर्न नहुने बताए । ‘नयाँ पुरानो, अग्लो होचो वा अन्य कुनैपनि बहानामा विभाजनको रेखा कोर्न हुँदैन,’ उनले भने, ‘केन्द्रीय नेतृत्व सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्छ । सहमति हुन सकेन भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पार्टीलाई आगामी दिनमा एकताबद्ध ढंगबाट अघि बढाउने प्रतिज्ञा सबैले गर्नुपर्छ । हामीले नयाँ पुरानो, अग्लो होचो वा अन्य कुनैपनि बहानामा विभाजनको रेखा कोर्नु हुन्न । पार्टीमा स्थापनाकालदेखि रगत र पसिना बगाएका नेताहरु सबै जिवित हुनुहुन्छ ।’