राप्रपामा थापाप्रति किन वैरभाव ?

काठमाडौं । राप्रपा महाधिवेशनका क्रममा यो सामग्री तयार पार्दसम्म नेतृत्व तथा पदाधिकारी चयनका लागि मतदानको क्रम जारी छ ।

पार्टी एकीकरण भएसँगै त्रयअध्यक्ष प्रणाली अपनाएको राप्रपाले शनिबार भएको मतदानको परिणामसँगै एकल अध्यक्ष पाउनेछ ।

त्रयअध्यक्षमध्ये द्वय प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर राणा अध्यक्ष पदको प्रतिस्पर्धाबाट बाहिरिएसँगै एकल अध्यक्षको रुपमा हेरिएका कमल थापाविरुद्ध राजेन्द्र लिङ्देन खडा गरिएको छ । जसका कारण राप्रपा महाधिवेशन रोचक बनेको छ । 

लोहनीको समर्थनमा अध्यक्ष पदका उम्मेदवार बनेका लिङ्देनलाई थापा समूहकै प्रतिनिधिले पनि समर्थन गरेका तथ्यहरु विस्तारै बाहिरिँदै छन् ।

त्यसैगरी, अर्का अध्यक्ष पशुपति शम्शेर राणाले पनि घुमउरो शैलीमा लिङ्देनलाई नै समर्थन गरेको संकेत गरेका छन् । 

राप्रपाको एकतालाई जोगाउन आफू अध्यक्ष पदमा नउठेको धारणा राख्दै उनले सहमति हुन नसक्दा मतदानमा जानुपरेको बताए । दुवै पक्षलाई सहमतिका लागि आफूले सुझाव दिँदा नमानेकाले मतदानबाट प्राप्त मतपरिणामलाई स्वीकार्नुपर्ने उनले क्विक नेपालसँग बताए ।

पार्टी एकताका लागि आफू अध्यक्षको मैदानबाट बाहिरएको बताउँदै राणाले आफू कुनै पनि पक्षमा नरहेको बताए । उनले भने, ‘मैले पार्टी सञ्चालन गर्न सक्नेलाई मतदान गरेको छु ।’

त्यसैगरी, थापा र लिङ्देनले पूर्वमन्त्री विक्रम पाण्डेलाई आफ्नो प्यानलमा राखेका छन् । उनलाई दुवै खेमाले आफ्नो समूहका पदाधिकारी भनी प्रचार गरिरहेका छन् । तर, उनी कतै पनि खुलेका छैनन् ।

राप्रपामा चार उपाध्यक्ष रहने व्यवस्था छ । पाण्डेलाई लिङ्देन पक्षले सुरूमा आफ्नो प्यानलमा राखेको थियो । बिहीबार मध्यराति थापा समूहले आफ्नो प्यानल घोषणा गर्दै पाण्डेलाई पनि समेटियो ।

प्रकाशचन्द्र लोहनीको खुला समर्थन, धवल शमशेर राणाको साथ अनि विक्रम पाण्डेको दोहोरो भूमिकालाई आधार मान्ने हो भने लिङ्देन अध्यक्ष पदमा निर्वाचित हुने सम्भावना बढी देखियो । 

लोहनीले खुलेर लिङ्देनलाई सहयोग गर्नु, राणा खुलेर कुनै पनि पक्षमा नदेखिनु र उपाध्यक्षका प्रत्यासी उम्मेदवार विक्रम पाण्डेले कतै न खुल्नु र कमल थापाविरुद्ध उनकै समूहमा आबद्ध रहेका लिङ्देनलाई प्रतिस्पर्धामा उत्रार्नुले राप्रपाभित्र थापा अध्यक्ष हुनुहुन्न भन्ने पक्ष हाबी छ भन्ने कुरा देखाउँछ ।

यसका अलावा महाधिवेशनको पूर्वसन्ध्यामा कमल थापाले निर्मल निवासलाई दिएको सुझावले पनि उनलाई राजाले नै मन नपारएको आँकलन गरिएको छ।

राप्रपाले अझै पनि प्रमुख शक्तिको रुपमा राजससंथालाई मान्छ । र, उसको एजेन्डा पनि राजसस्थासहितको हिन्दूराष्ट्र रहेको छ ।

कमल थापाप्रति ज्ञानेन्द्र किन असन्तुष्ट ?

केही दिनअघि मात्रै राप्रपा अध्यक्ष कमल थापाले निर्मल निवासलाई महाधिवेशनलाई प्रभावित पार्ने गरी सक्रिय नहुन सुझाव दिए ।

राजतन्त्रसहितको प्रजातन्त्रको वकालत गरिरहेका थापाबाट निर्मलनिवास लक्षित गरी आएको अभिव्यक्तिले नेपाली राजनीतिमा एक किसिमको कौतुहलता सिर्जना गर्‍यो । जुन स्वाभाविक पनि हो ।

राजसस्थाप्रति नतमस्तक भएर नेपाली राजनीतिमा राजसंस्थासहितको हिन्दूराष्ट्र एजेन्डा स्थापित गराउन सफल थापाप्रति राजा असन्तुष्ट हुनु र कमल थापाले निर्मल निवासलाई पार्टीभित्र नखेल्न चुनौती दिनुको रहस्य आगामी दिनमा खुल्दै जाला ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.