कांग्रेस महाधिवेशनः लुम्बिनीमा पौडेल पक्षका अमरसिँह पुन विजयी

बुटवल ।  नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन: निर्वाचित भएका छन् । उनी रामचन्द्र पौडेल पक्षका हुन् । बिहान सम्पन्न मतगणनाको अन्तिम परीणामअनुसार पुनले सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले हराएका हुन् ।

सभापतिमा निर्वाचित पुनले ८ सय ५२ मत पाउँदा शाहले ७ सय ६७ मतमै चित्त बुझाए ।

पदाधिकारीमा पनि पुन प्यानलकै वर्चश्व छ । उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ ८ सय ४७ र राजु खनाल ७ सय ९२ मत ल्याइ विजयी भएका छन् । खनाल भने संस्थापन निकट मानिन्छन् । अष्टभुजा पाठकले ७ सय ७२ र सुधाकर पाण्डेले ६ सय ६१ मत ल्याएर उपसभापतिमा पराजित भए ।

महामन्त्रीमा विक्रम खनालले ८ सय ४४ र सुरेन्द्रराज आचार्यले ८ सय ३९ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ । दुवैजना पौडेल निकट हुन् । सहमहामन्त्रीमा विष्णु खनाल ८ सय ५९, खगराज पाण्डे ७ सय ७६ र निमा गिरी ८ सय ३० मत ल्याइ निर्वाचित भएका छन् । ती सबै पौडेल समूहकै हुन् ।

शनिबार राति १२ बजेदेखि सुरु भएको मतगणना सोमबार बिहान मात्र सकिएको हो । प्रदेश अधिवेशनमा कुल १ हजार ६ सय ३१ मत खसेको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नौ जिल्ला सभापतिमा पनि पौडेल पक्षले सभापति जितेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.