काठमाडौं । नेपाल एयरलाइन्सले रेडियोधर्मीदेखि गन्धकसम्म कार्गो गर्ने लाइसेन्स पाएको छ । नेपालको हवाई नियामक नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले निगमलाई खतराजन्य सामग्री बोक्न पाउनेगरी प्रमाणपत्र दिएको हो ।
पछिल्लोसमय विश्वभर नै एयरलाइन्सले खतराजन्य सामग्री र पदार्थ (डेन्जरस गुड्सहरू) पनि बोक्न थालेक छन् । यस्ता सामग्रीलाई नौ भागमा वर्गीकरण गरिएको छ । नियामक निकायले आफ्नो देशका एयरलाइन्स कम्पनीहरूलाई अन्तरराष्ट्रिय मापदण्ड पूरा गरेपछि यस्ता सामान बोक्न योग्य रहेको प्रमाणीकरण गर्छ । यही प्रकृया अन्तर्गत अहिले नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक क्यानबाट खतराजन्य पदार्थहरू ओसारपसार गर्ने प्रमाणित एयरलाइन्सका रूपमा प्रमाणपत्र पाएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा क्यानका महानिर्देशक राजकुमार क्षेत्रीले एनएसीका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । क्यानका महानिर्देशक क्षेत्रले धेरै वर्षअघि हुनुपर्ने काम सम्पन्न गरिएको भन्दै कार्यान्वयन पक्षमा कमजोरी हुन नदिन निगमका अधिकारीहरूलाई आग्रह गरे ।
क्यानले अन्तरराष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ) को मापदण्डअनुसार निगमलाई डेञ्जरस गुड्स क्यारियर मान्यता दिएको हो । यसअघि क्यानले श्री एयरलाइन्सलाई मात्र यस्तो मान्यता दिएको थियो । खतराजन्य सूचीका सामान ओसारपसार गर्न खोजेका सरकार र व्यवसायीको कार्गो निगमको जहाजले बोक्नेछ ।
वाह्य उडान भरिरहेका निगमका विमानमा हाल १५ टन कार्गो होल (बोक्ने क्षमता भएपनि सामान नपाउँदा खाली हुने अवस्था) रहेको निर्देशक अधिकारीले बताए । खतराजन्य वर्गका सामग्री बोक्ने अनुमति पाएकाले अब भने यस्तो स्थिति अन्त्य हुने तथा यात्रु नपाएका बेला यस्ता सामान बोकेर पनि निगमको राजस्व बढाउने उनले दाबी गरे ।
नेपाल कोरोना महामारीको चपेटामा फसेका बेला अधिकांश औषधी र उपकरण निगमकै जहाज प्रयोग गरी ल्याइएको थियो । त्यतिखेर निगमलाई प्राधिकरणले यस्ता सामान बोक्न तीन महिनाको आवधिक लाइसेन्स दिएको थियो ।
तर, त्यतिखेर कतिपय औषधी ल्याउन समस्या भएको थियो । उपचारमा प्रयोग गरिने रेडियोधर्मी विकिरणदेखि बेहोस बनाउने औषधिसम्म ल्याउन कठिनाइ भएको निगम, ग्राहक सेवा विभागका टंकनिधि शर्माले बताए । अब भने नेपालमा र नेपालबाट यस्ता सामान ओसारपसार गर्न निगमकै जहाज पहिलो प्राथमिकतामा पर्ने उनले दाबी गरे ।