संसदीय सुनुवाइ समिति बैठकमा एमसीसी बहस: कसले के भने ?

काठमाडौं । संसदीय सुनुवाइ समितिमा एमसीसीबारे सत्तारुढ गठबन्धन दलका सांसदहरुबीच मतान्तर भएको छ । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको सुनुवाइका क्रममा सांसदहरुबीच सो विषयमा मत बाझाबाझ भएको हो । 

बैठकका क्रममा माओवादीका सांसद देव गुरुङले नेपाललाई अमेरिकाले सैन्य रणनीतिमा जोड्न खोजेको गुरुङको आरोप लगाए ।

अमेरिकाले विगतमा सेना राख्न खोजेको भन्ने कुरा आएको पनि उनका दाबी थिए । एमसीसीलाई बहसमा ल्याएर संसदीय सुनुवाइ समितिमा सैन्य रणनीति र विश्व सुरक्षाका कुरा राखेका गुरुङले अगाडि भने, 'आर्थिक अनुदान हो भने नेपालको संसद्ले पास गर्न पर्दैनथ्यो । संसद्‌बाट पास गर्ने भन्नेले पनि आशंका बढायो । नेपालको कानून बाझिए सम्झौता लागू हुने भनियो । यसो भएको हुनाले इन्डो प्यासिफिक हो भन्ने छ । यसमा केही न केही छ ।'

अमेरिकाले नेटोदेखि इन्डो प्यासिफिक सैन्य रणनीति बनाएर अमेरिका अगाडि बढेको भन्दै सुरक्षामा खतरा पर्ने उनको भनाइ थियो ।

त्यसैगरी, कांग्रेसकी सचेतक पुष्पा भुसालले गुरुङलाई जवाफ दिने क्रममा एमसिसी खारेज गर्दा भविष्यमा नेपालमा लगानी नआउने बताइन् । 

'एमसीसीमा नेपालले लगानी गरिसकेको छ । हामीले पनि त्यहीँ रुपमा लिएका छौं । एमसीसीको एक्टमा धेरै सूचना बाहिर नगएकाले पनि हो । देव गुरुङले आफ्ना कुरा त राख्नु भो तर डकुमेन्टले प्रुफ र पुष्टि गर्नुपर्ने हुन्छ । एमसीसी समयमा पास नगर्दा नेपालले पछि आउने आर्थिक साहायतामा असर पर्न सक्छ,' उनले आग्रह गरिन्, 'सतही टिप्पणीले विरोध गर्न हुन्न । एमसीसीको समयसीमा तोकिएको छ । यसलाई पनि ख्याल गर्नुपर्छ । भोलिका दिनमा पर्ने असर ख्याल गर्नुपर्छ ।'

एमाले सांसद सुरेन्द्र पाण्डेले एमसीसी प्रस्तावित राजदूतले पारित नगर्ने भएकाले यसमा बहस नगर्न सुझाए । एमसीसी नेपालको आन्तरिक मामिला भएको उनले स्मरण गराए ।

एमसीसीबारे सत्तारुढ दलका सांसदहरूबीच मत बाझिएपछि एमाले राष्ट्रिय सभा संसदीय दलका नेता तथा समिति सदस्य सुमनराज प्याकुरेलले सरकारको धारणा के भनी प्रश्न गरेका थिए । 

‘तपाईंहरूले एमसीसीबारे राम्रो व्याख्या गरिदिनु भयो । सरकारको धारणा यही हो कि के हो ?' उनको प्रश्न थियो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.