काठमाडौं । अर्जुन कुमार फिल्म प्रोडक्शनबाट निर्माण भएको फिल्म चपली हाईट–३ लाई सहयोग गर्न निर्माता अर्जुन कुमारले वितरक र हलवालालाई अपिल गरेका छन् । कोरोना कहरपछि नेपाली फिल्म रिलिज गर्ने आँट निकालिएको अवस्थामा नेपाली फिल्मलाई प्रोत्साहन गर्न अर्जुन कुमारले वितरक र हलवालाहरुलाई अपिल गरेका हुन् ।
पौष २ गते रिलिज मिति तय गरिएको फिल्म चपली हाईट– ३ ले पत्रकारसँग भेटघाट कार्यक्रम राख्दै नेपाली फिल्म बजारको अवस्था अहिले नाजुक रहेको भन्दै सबै क्षेत्रबाट नेपाली फिल्मलाई सहयोग गर्नुपर्ने अर्जुन कुमारले दावी गरे ।
नेपाली फिल्म रिलिज हुन्छ भने कम्तिमा १५ दिनको ग्यापमा मात्रै विदेशी फिल्म लगाउनु अहिलेको समयमा उपयुक्त हुन्छ, निर्माता अर्जुन कुमारले भने । पौष २ गते भारतीय भाषामा डबिङ गरिएको दक्षिण भारतीय फिल्म पुष्पा आउने हल्ला चलेपछि आक्रोसित बनेका अर्जुन कुमारले नेपाली फिल्मसँगै हिन्दी डबिङ गरेको फिल्म रिलिज नगरिदिनुहुन आग्रह गरेका हुन् ।
एकातिर नेपाली फिल्मको प्रवद्र्धन हुनुपर्छ । नेपाली फिल्मको बजार राम्रो हुनुपर्छ भन्ने अर्को तिर नेपाली फिल्मलाई चेपुवामा पारेर हिन्दी डबिङ फिल्म ल्याउनु व्यवहारिक नभएको भन्दै उनले आक्रोस पोखे । उनी चलचित्र विकास बोर्डका सदस्य समेत हुन् । चलचित्र विकास बोर्डको तर्फबाट पनि उनले हिन्दी डबिङ फिल्म रिलिज गर्न नहुने भन्दै पहल थालेको बताए ।
फिल्म निर्माता, वितरक, हलवाला र सबै फिल्मकर्मीले यतिखेर नेपाली फिल्मलाई सहयोग गर्नुपर्ने उनले बताएका छन् । यदि आफ्नो फिल्मलाई सहयोग नभएको खण्डमा आफु फिल्म रिलिज रोक्न बाध्य हुने समेत अर्जुन कुमारले बताएका छन् ।
मेरो फिल्मसँगै दक्षिण भारतीय फिल्म रिलिज गर्छ र नेपाली फिल्मलाई शो कम दिन्छ भने म फिल्म लगाउँदिन, अर्जुन कुमारले क्विक नेपालसँग भने । कोरोना कहरका कारण रिलिज रोकिएको चपली हाईट–३ पौष २ बाट रिलिज गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।
फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा र लोकेन्द्र लेखकलगायतको अभिनय रहेको छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई निकेश खड्काले निर्देशन गरेका छन् ।