काठमाडौं । महाधिवेशनको पूर्व तयारीमा काँग्रेस सभापति शेर बहादुर देउवाले आफ्नो गुटको बैठक बोलाएका छन् । तर आफ्नै आन्तरिक तयारीमा रहेको भन्दै उपसभापति विमलेन्द्र निधि भने बैठकम उपस्थित भएका छैनन् ।
संस्थापन सदस्य समेत रहेका निधिले १४ औं महाधिवेशनमा सभापतिका लागि टिम बनाउने तयारीमा लागि परेका छन् । आफ्नै तयारीमा रहेका निधिले आफू संस्थापन टिममा समेत नभएको बताएका छन् । यस कारण आफूलाई बैठकमा नबोलाउनु स्वभाविक रहेको उनको भनाई छ ।
निधिले १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणासँगै सम्पर्क कार्यालय समेत खोलेका छन् । यसअघि उनी देउवा समूहबाट उपसभापति बनेका थिए । पछिल्लो समय देउवाले उनलाई चासो दिन छाडेपछि उनले सभापतिमा उम्मेद्वारी दिने तयारी गरेका हुन् ।
आउँदो १४ औं महाधिवेशनका लागि देउवा पक्षबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापतिका लागि दावेदार रहेका छन् । साथै महामन्त्रीमा बालकृष्ण खाँण, प्रकाशशरण महात, ज्ञानेन्द्र बहादुर कार्की, विश्वप्रकाश शर्मा, एनपी साउद लगाएत रहेका छन् ।
साथै वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट पौडेल आफै, महामन्त्री शशंका कोएराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका लागि आकंक्षी छन् ।