कांग्रेस महाधिवेशनस्थलमा कांग्रेस नेता र प्रहरीबीच भनाभन भएको छ ।
महाधिवेशनस्थलमा प्रवेशका लागि गेटमा पुगेका प्रतिनिधिलाई प्रहरीले प्रवेशद्वारमै रोकेपछि प्रतिनिधि र प्रहरीबीच भनाभन भएको हो । प्रहरीले महाधिवेशनस्थलमा परिचय नभएकाहरुलाई प्रवेश गर्न रोक लगाएको छ ।
नेपाली कांग्रेस १४ औँ महाधिवेशनको उद्घाटन शुक्रबार (आज) हुँदैछ। दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटनका लागि तयारी पूरा भएको जनाइएको छ ।
पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीका अनुसार उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ ।
उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको उपस्थिति हुने भएको छ ।
सहभागीलाई हेर्न सजिलोका लागि मञ्चबाहिर ठूला पाँच डिस्प्ले राखिएको छ। सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्चनजिकै छुट्टै स्टेज बनाइएको छ। उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ। सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ।