काठमाडाैँ । प्रारम्भिक नामावलीमा ४ हजार ३ सय १९ महाधिवेशन प्रतिनिधि रहेको सार्वजनिक भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइट मार्फत ४ हजार ३ सय १९ जना महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।
सूचीमा पार्टीका भ्रातृ संस्थाका तर्फबाट ६० जना प्रतिनिधि, शुभेच्छुक संस्थाका तर्फबाट ६७ जना प्रतिनिधि र विदेशस्थित पार्टीका जनसम्पर्क समितिका तर्फबाट करिब १ सय ५० जना महाधिवेशन प्रतिनिधिको नाम थप हुन बाँकी छ । सर्लाहीका ४ संघीय निर्वाचन क्षेत्र र महोत्तरीको १ संघीय निर्वाचन क्षेत्रका १ सय ३० जना महाधिवेशन प्रतिनिधिको नाम पनि सूचीमा छैन ।
कांग्रेस महाविधेशनमा ४ हजार ७ सयभन्दा केही बढी महाधिवेशन प्रतिनिधि हुनेछन् । महाधिवेशन प्रतिनिधिको आधिकारिक सूची भने समितिले निर्धारण गरेको निर्वाचन कार्यतालिका बमोजिम आज प्रकाशन हुँदैछ । कांग्रेसका महाधिवेशन प्रतिनिधिले पार्टीको केन्द्रीय नेतृत्व निर्वाचित गर्नेछन् ।
उम्मेदवार र महाधिवेशन प्रतिनिधिलाई आचारसंहिता मतदान स्थलभित्र मोबाइल लैजान निषेध गरिएको छ । कांग्रेसले १४ औँ महाधिवेशनका उम्मेदवार र महाधिवेशन प्रतिनिधि आचारसंहिता जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिले मतदानस्थलमा मोबाइल लैजान नपाउने लगाायत प्रावधान सहितका आचारसंहिता जारी गरेको हो ।
केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जारी गरेको आचारसंहितामा उम्मेदवारको प्रचारप्रसार गर्नु पर्दा भिजिटिङ कार्ड र सामान्य अपिल मात्र वितरण गर्न पाइने उल्लेख छ । त्यस्तै, व्यक्तिगत चरित्रमा लाञ्छना नलाग्ने गरी प्रचार गर्न र शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार गर्न समितिले अनुरोध गरेको छ ।
केन्द्रीय कार्यालय र भृकुटीमण्डप क्षेत्रमा ५ सय मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार र माइकिङ गर्न निषेध गरिएको छ । आचारसंहितामा मतदानस्थलभित्र मोबाइल लैजान निषेध गरिएको छ ।