काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले माओवादीलाई कांग्रेस र एमाले हेपेको भनी टिप्पणी गरेका छन् । शनिबार पार्टीको प्रदेश सम्मेलनको संयुक्त उद्घाटनका क्रममा अध्यक्ष प्रचण्डले सो टिप्पणी गरेका हुन् ।
साथै उनले एमाले र कांग्रेस विचारहीन र सिद्धान्तहीन बनेको आरोपसमेत लगाए।
‘अरु पार्टीले महाविधेशन भनेर भीड जम्मा गर्ने गरेका छन्,’ प्रचण्डले भने, ‘एमालेले पञ्च र्याली गर्यो । त्यो निभ्ने बेलाको बत्ती मात्रै हो । त्यो विचारहीनताको अधिवेशनका रुपमा गयो । दुनियाँले देख्यो । त्यहाँ मार्क्सवादको म पनि उच्चरण गरिएन । त्यहाँ व्यक्ति पूजा गरियो । सिद्धन्तहीनताको प्रदर्शन गरियो ।’
प्रचण्डले कांग्रेसमा पनि उम्मेवारी मनोनय र चुनावमात्रै हुने र विचारको बहस नहुने आरोप लगाए। ‘कांग्रेसको त झन हामीले हेरिरहेका छौँ,’ उनले भने, ‘विचारको बहस छैन् । खाली उम्मेदवारी दर्ता र चुनाव मात्रै छ,’ उनले थपे, ‘बरु मैले हिजो उद्घाटनका बेला समीक्षा गर्नुपर्यो भने । ती कुनै पनि पार्टीका महाधिवेशन विचार र मुद्दा केन्द्रित छैनन् ।’
उनले राष्ट्रिय सम्मेलनमा आफूहरुले अनावश्यक तामझाम नगर्ने बताए । प्रचण्डले भने, ‘हाम्रो पार्टी आठ लाख सदस्य भएको पार्टी हो । हामी त्योभन्दा ठूला तामझाम गर्न सक्छौँ । त्यो गरौंला पनि कुनै दिन । तर, यसपालि हामी विचार केन्द्रित हुनेछौं ।’
आफूले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने प्रतिवेदन लेखिरहेको बताउँदै प्रचण्डले त्यो निरन्तरतामा क्रमभंग गर्ने खालको हुने दावी गरे। ‘म केही दिनदेखि प्रतिवेदनमा व्यस्त थिएँ । त्यो पूरै सकिएको त छैन, ट्रयाक खोल्ने काम सकिएको छ । तर, त्यसले निरन्तरतामा क्रमभंग गर्छ,’ प्रचण्डले भने।
उनले माओवादीले मात्रै विचारको विकास गर्ने सम्भावना बोको समेत दावी गरे। ‘विश्वमा नै हाम्रो पार्टी त्यस्तो ठाउँमा छ, जसले विचारको विकास गर्ने सम्भावना बोकेको छ । विद्यमान चुनौतीको सामना पनि गर्ने सम्भावना बोकेको छ,’ प्रचण्डले भने ।