देउवाले पाएनन् बहुमत, पुन: मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणमा भएको मत परिणामबमोजिम कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसक्दा सभापतिका लागि पुन: मतदान हुने भएको हो । 

कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कुल मतको बहुमत आवश्यक पर्छ । आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो ।

मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।

अर्का उम्मेदवार शेखर कोइरालाले १७५९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.