काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको सभापतिको मतदानको मतगणना सुरु भएको छ । सभापतिका लागि मत खसाल्न तीनवटा ड्रम राखिएको थियो । उक्त तीनवटा ड्रममा खसेको मतलाई तीन ठाउँमा राखेर एकै पटक गन्न थालिएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार करिब रातको ११ बजेदेखि मत गन्न थालिएको हो । सभापतिका प्रत्यासी डा.शेखर कोइरालाका प्रतिनिधि आउन ढिला गरेकाले साँढे दशबाजे सुरु गरिने भनिएको मतगणना सुरु गर्न ढिला भएको हो । उक्त मत गणनाको परिणाम भने तीन घण्टामा प्राप्त हुनेछ ।
सोमबार भएको सभापतिको मतदानमा उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि मंगलबार दोस्रो चरणको मतदान गरिएको हो । पहिलो चरणको सभापति उम्मेद्वारमा ५ जना प्रत्याशीबिच प्रतिष्पर्धा भएको थियो । जसमध्ये शेर बहादुर देउवाले दुई हजार २५८, शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । यसैगरी अर्का उम्मेद्वार पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रिय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।
दोस्रो चरणको सभापति मतदानमा भने प्रत्याशी उम्मेद्वार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ देउवाको समर्थनमा उभिएका छन् ।