नेताहरुको झगडाका कारण पार्टीमा विभाजन आयो : युवराज ज्ञवाली
माधवजीले पार्टी विभाजन गरेर ठूलो गल्ती गर्नुभयो, एउटै विचार भएका दुई पार्टी हुन सक्दैनन्, ओलीले संसद् विघटन गरेको गल्ती सच्चिसकेको छ

सुर्खेत । एमाले उपाध्यक्ष एवं कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले नेताहरुको झगडाका कारण पार्टीमा विभाजन आएको बताएका छन् । मंगलबार बिहान एमाले पार्टी कार्यालय सुर्खेतमा भएको पत्रकार सम्मेलनमा नेताको सनकका भरमा पार्टी विभाजन भएको उनले आरोप लगाए ।

माधव नेपालले पार्टी विभाजनका लागि एक महिनासम्म हरप्रयास गरेको ज्ञवालीले दाबी गरे । ‘एक महिनासम्म उहाँले हामीलाई पार्टी विभाजनका लागि कन्भिन्स गर्नुभयो । हामीले एक महिनासम्म पार्टी एकताका प्रयास गर्यौं,’ उनले भने, ‘अन्ततः उहाँले पार्टी एकताभन्दा विभाजनको बाटो अंगाल्नुभयो ।’

१० बुँदे सहमतिअनुसार पार्टी एकता भइसकेको पार्टीमा विभाजन आउनु गलत भएको ज्ञवालीले बताए । ‘एउटै विचार भएका दुई पार्टी हुन सक्दैनन्,’ उनले भने, ‘माधवजीले पार्टी विभाजन गरेर ठूलो गल्ती गर्नुभयो ।’

केपी ओलीले संसद् विघटन गरेपछि अहिले गल्ती सच्चिसकेको सरकार परिवर्तन भइसकेको एमाले एकता गरेर सच्चिनु आवश्यक रहेको उनले बताए । ‘ओलीले संसद् विघटन गरेको गल्ती सच्चिसकेको छ,’ उनले भने, ‘अहिले उहाँ सरकारमा पनि हुनुहुन्न, अर्कै सरकार बनिसकेको छ ।’

एमाले विभाजन भयो भने राष्ट्रियता कमजोर हुने र अब माधव नेपाललाई जनताको एउटै प्रश्न एमाले विभाजन किन गरेको भन्ने प्रश्न रहेको उनले बताए । ‘तपाईले केपी ओलीभन्दा के राम्रो काम गर्नुभयो । उहाँले पनि १५ वर्ष पार्टी चलाउनु भएको हो,’ उनले भने, यसले राष्ट्रियता कमजोर हुनेछ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.