जिल्ला अस्पतालले पाएन कोराना संक्रमित उपचार खर्च

लमजुङ  ।  जिल्ला अस्पताल लमजुङले कोरोना संक्रमितको उपचारमा गरेको खर्च अझै नपाएको जनाएको छ ।

अस्पतालले सुरूदेखि चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म कोरोना संक्रमितको उपचार खर्चबापत एक करोडभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको जनाएको छ ।

कोरोना संक्रमण देखिएदेखि चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात कार्तिक मसान्तसम्म पाँच सय ६ जना संक्रमितको निशूल्क उपचार गरेको अस्पतालले जनाएको छ ।

संक्रमितको उपचार सरकारले गर्ने भने पनि सो बापतको रकम अहिलेसम्म भुक्तानी नभएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । जिल्ला अस्पतालमा गत आर्थिक वर्षमै ४४१ जना संक्रमितको उपचार भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा थप ६५ जनाको उपचार भएको अस्पतालले जनाएको छ । दुवै चरणमा उपचार गराएका संक्रमितहरूको कुल रकम एक करोड ३३ लाख २१ हजार रुपैयाँ पुगेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार पहिलो चरणमा २ सय ६२ जना कोरोना संक्रमितको उपचार गर्दा ७३ लाख ६४ हजार रुपैयाँ लागेको थियो भने दोस्रो  चरणमा हालसम्म एक सय ७९ जनाको उपचार गर्दा ४६ लाख १३ हजार भएको थियो ।

पछिल्लो चौमासिकमा १३ लाख ४४ हजार रुपैयाँ भएको अस्पतालले जनाएको छ । कोभिड संक्रमितको उपचार खर्च सरकारले उपलब्ध गराउने सम्झौता भए पनि हालसम्म रकम नआएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

यसअघि दोस्रो लहरको संक्रमण सुरुभएसँगै १६ वैशाख मा जिल्ला अस्पताल लमजुङ र गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबीच कोभिड-१९ संक्रमित बिरामीको उपचार र व्यवस्थापनका लागि अस्पतालमा कोभिड-१९ केयर युनिट सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो ।

सम्झौतामा उल्लेख भएअनुसार संक्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च अस्पतालको आइशोलेसनमा सामान्य उपचारको लागि दैनिक ३ हजार ५ सय, मध्यम उपचारको निम्ती सात हजार र गम्भीर उपचारको निम्ति दैनिक १५ हजार रुपैयाँ उपलब्ध गराउने उल्लेख छ ।

सम्झौतामा उल्लेख भएअनुसार प्रत्येक महिना सोधभर्ना भुक्तानी गर्ने उल्लेख भएपनि हालसम्म रकम नआएको अस्पतालले जनाएको हो ।

प्रदेश सरकारबाट प्राप्त हुनुपर्ने ४६ लाख १३ हजार रुपैयाँमध्ये ४५ लाख रुपैयाँ निकासा भइसकेको छ । उक्त रकम जिल्ला स्वास्थ्य कार्यालयमा आइसकेको र आवश्यक प्रक्रिया पुर्‍याएर अस्पतालको खातामा आउन लागेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड‍-१९ संक्रमितको उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी निर्देशिका जारी गरेको थियो । निर्देशिकामा उल्लेख भएअनुसार कोभिड-१९ को संकास्पद तथा संक्रमितको उपचार निःशुल्क हुने बताइएको छ ।

संक्रमित व्यक्तिलाई उपचार गरेबापतको लागत रकम अस्पताल, आइशोलेसन सेन्टरलाई उपलव्ध गराइने साथै होम आइसोलेसनमा बस्ने बिरामीको क्लिनिकल निगरानी गर्दा लाग्ने रकमसमेत सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराईने निर्देशिकामा उल्लेख छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.