प्रदेश २ को नाम 'मधेस' राख्न माग

काठमाडौं । प्रदेश २ को नाम मधेश राख्न तीन दल सहमत भएका छन् । 

बिहीबार बसेको प्रदेश सभाको बैठकमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सो प्रस्ताव राखेका हुन् । 

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद भरत साह, जसपाका नेता शैलेन्द्रकुमार यादव, विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीलगायतले प्रदेश २ को नाम मधेश राख्नका लागि समर्थन जनाएका हुन् ।

यस प्रदेशको जनताको पहिचान मधेशसँग जोडिएकाले मधेश नाम राख्नुपर्ने उनीहरुको भनाइ छ । 

यसका अलावा प्रदेश २ मा जानकी मन्दिर भएकाले पनि यस प्रदेशको नाम जानकी प्रदेश राख्न नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रमोदकुमार यादवको भनाइ छ । 

नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले भने त्रेतायुगदेखि रहँदै आएको सँस्कृति मिथिलाको इतिहास यस प्रदेशमा रहेकोले प्रदेशको नामाकरण मिथिला भोजपुरी राख्नुपर्ने उनको भनाइ छ । उनले जबरजस्ती मधेशको कोट लगाउनु गलत हुने बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.