कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन्।

कांग्रेसको नयाँ विधानअनुसार यस महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन भएको थियो। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

यसैगरी केन्द्रीय सदस्यहरुमध्ये ३५ खुला, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन तथा पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गताबाट एकरएक केन्द्रीय सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन भएको थियो। यसबाहेक कांग्रेस विधानअनुसार केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने व्यवस्था छ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ। कांग्रेसले बैठकको निर्णयसहित आज नै आयोगमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिने बताइएको छ। आयोगले यसअघि सो प्रयोजनका लागि यही पुस १० गतेसम्म अन्तिम म्याद तोकी सो विषयसम्बन्धी सूचना प्रकाशन गरेको थियो।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकअघि आजै बिहान ११ बजे एक कार्यक्रम गरी १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण कार्यक्रम रहेको केन्द्रीय कार्यालयले जनाएको छ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.