काठमाडौं । नेपाली फिल्म क्षेत्र अहिले शुन्य अवस्था रहेको छ । महाभूकम्प र संक्रमणकालिन अवस्थाबाट विस्तारै तंग्रिन लागेको नेपाली चलचित्र क्षेत्रले आशा बोक्दै विदेशी चलचित्रसँग प्रतिस्पर्धाका लागि तयार हुँदै गर्दा कोरोना कहरले फेरि सुस्ताईदियो ।
कोरोना कहरका कारण सुस्ताएको फिल्म क्षेत्र करिब २ बर्ष शुन्य अवस्थामै रह्यो । अहिले पनि चलचित्र क्षेत्र कसरी चलायमान हुन्छ भने विषयमा सरोकारवाला र सम्बन्धित संघ संस्था मौन देखिन्छन् ।
कोरोना कहरका कारण दर्शक हलमा आईहाल्ने टुंगो छैन । निर्माताहरु फिल्म रिलिज गर्न तयार छैनन् । यस्तै अवस्थामा नेपाल सरकारले हल खोल्न अनुमति दिएको छ ।
सरकारले हल खोल्न अनुमति दिएपनि फिल्म चलिहाल्ने परिस्थिती भने छैन । किनकी निर्माता र हलबीच आन्तरिक छलफल हुन सकेको छैन भने अर्को तर्फ दर्शक हलमा आउने निश्चित छैन ।
नेपाली चलचित्रको लागि दर्शक चुजी नै भएर हलमा आउनेमा हलवालाहरु निश्चिन्त छैनन् । विदेशी ठूला ब्राण्डका फिल्महरुको प्रतिक्षामा नेपाली फिल्महलका संचालकहरु रहेका छन् ।
कोरोनाकैबिचमा केही साता हल खोल्दा दर्शक हलमा नआएपछि हलवालाहरुले आफैले हल बन्द गरेका थिए । सोही कारण पनि हल खोलेर दर्शक नआएपनि अर्को समस्या उत्पन्न हुने हुँदा भरपर्दो चलचित्र नआउँदासम्म हल खोल्ने मनशायमा हलवालाहरु देखिएनन् ।
विदेशी चलचित्रले माहोल बनाईदियो भने नेपाली चलचित्र रिलिजको लागि सहज हुन्छ भने आशामा नेपाली फिल्मका निर्माता र हलवालाहरु रहेका छन् ।
यता हलवालाहरु सरकारले हललाई केही सहज रुपमा संचालन गर्न अनुदान वा सहायता सहयोग दिनुपर्ने मागमा छन् । सरकारले हल खोलेपनि सहायता सहयोगविना हल नखोल्ने अडानमा हलका सचलाकहरु रहेका छन् ।
चलचित्र विकास बोर्ड भने स्वास्थ्य मापदण्डका आन्तरिक तयारी गर्ने कोरोना कहरबाट सुरक्षित हुने वातावरण बनाएर चाँडो भन्दा चाँडो हल खोल्नुपर्नेमा रहेका छन् ।
ठूला भनिएका निर्माताहरु दशैंकै छेऊमा चलचित्र दिन तयार छैनन् । चलचित्र नभएको कारण पनि हल नखोल्ने मुडमा गएका हल संचालकहरुले अन्य माग अघि सारेको बोर्डको बुझाई छ । अन्यथा हल खोल्न आवश्यक मापदण्ड र स्वास्थ्य सचेतनाका लागि चलचित्र विकास बोर्डले सहयोग गर्ने जनाएको छ ।