बेन्जेमाको ह्याट्रिकमा रियलको सहज जित
स्ट्राइकर करिम बेन्चेमाको ह्याट्रिकमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित हात पारेकाे छ । 

म्याड्रिड ।   स्ट्राइकर करिम बेन्चेमाको ह्याट्रिकमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित हात पारेकाे छ । आइतबार रातिको खेलमा रियलले ३३ वर्षीय स्ट्राइकर बेन्जेमाको ह्याट्रिकमा सेल्टा भिगोलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।  

रियलको जितमा बेन्जेमाले ह्याट्रिक गर्दा भेनेसुस जुनियर र इडार्डाे कामाभिन्गाले एक/एक गोल गरे । सेल्टा भिगोका लागि शान्ति मिना र फ्रान्को कार्भीले एक/एक गोल गरे पनि टिमलाई हारबाट जाेगाउन सकेनन् ।  

खेलमा अग्रता भने भ्रमणक टोली सेल्टा भिगोले बनाएको थियो । शान्ति मिनाले चार मिनेटमा सेल्टालाई अग्रता दिलाएका थिए । 

२४ मिनेटमा बेन्जेमाले बराबरी गोल फर्काए। ३१ मिनेटमा गोल गर्दै सेल्टाले पहिलो हाफमा २-१ को अग्रता बनायो । उसका कार्भीले गोल गरे । 

अनुभवी स्ट्राइकर  बेन्जेमाले खेलको ४६ मिनेटमा गोल गर्दै टोलीलाई २-२ को अवस्थामा पुर्‍याए । त्यसपछि भने रियलले खेल पूर्ण रुपमा आफ्नो पक्षमा पार्‍याे ।  

५४ मिनेटमा बेन्चेमाको पासमा जुनियरले गोल गरे । ७२ मिनेटमा रियललाई कामाभिन्गाले ४/२ को अग्रता दिलाए । खेल सकिन ३ मिनेट अघि बेन्चेमाले टोलीका लागि पाँचाै तथा व्यक्तिगत ह्याट्रिक पूरा गरे । 

जितसँगै घरेलु टोली रियल म्याड्रिड चार खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ । समान अंक भए पनि भ्यालेन्सिया र एथ्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

आइतबार राति नै भएको ला लिगाका अन्य खेलमा एथ्लेटिको म्याड्रिडले एस्पान्योललाई २–१ गोल अन्तरले पराजित गरेकाे छ। संघर्षपूर्ण जित निकाल्ने क्रममा एथ्लेटिकोको लागि यान्निक कारास्को र थोमस लेमारले एक/एक गोल गरे । 

भ्यालेन्सियाले ओसासुनालाई ४-१ गोल अन्तर तथा रियल सोसाइडाडले काडिजलाई २-० गोल अन्तरले पराजित गर्‍याे ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.