काठमाडौं । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिकाले प्रवाह गर्ने सम्पूर्ण सेवा प्रवा अनलाइनमार्फत् दिँदै आएको छ।
गाउँपालिकाका सूचना अधिकारी बिजय गौतमका अनुसार गाउँपालिकाले विगत एक वर्षदेखि कागजी कामकारबाहीलाई विस्थापित गर्ने गरी प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्दै आएको छ ।
'गाउँपालिकामा हुने हरेक प्रकारका काममा कागजको प्रयोग भएको छैन । पालिकामा आठ वडा छन् । वडास्तरबाट आउने कामलाई इमेलमार्फत् मगाउने गरेका छौँ,' उनले भने, ‘वडामा आउने सिफारिस कागजमै लेखिएर आएपनि गाउँपालिकामा भने प्रविधिको माध्यमबाट आउने गरेको छ ।’
प्रविधि प्रयोग गर्न जान्नेले अनलाइनकै माध्यमबाट दिन सक्ने उनको भनाइ छ । ‘वडा तथा गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीले अनलाईन र कागजी जुन माध्यमबाट पनि सेवा लिन सक्छन्,’उनले भने, 'गाउँपालिकाले विगत चार वर्षदेखि अनलाइन सेवा सुचारुका लागि कसरत गर्दै आए पनि गत वर्षबाट मात्र सफल भएको हो । करिब एक वर्षदेखि काठेखोला गाउँपालिकाका जनताले अनलाइन माध्यमबाट सेवा लिँदै आएका छन् ।'
प्रविधिलाई प्रयोगमा ल्याउनका लागि पालिकाले चार वर्षको अवधिमा करिब ५० लाख खर्च लागेको गौतमले बताए ।
प्रत्येक वडा र पालिकामा डिजिटल प्रोफाइलको निर्माण गरिएको जानकारी दिँदै उनले अनलाइनमार्फत् सेवाग्राहीले सजिलै अनलाइन सेवा लिन सक्ने बताए ।
नेपालमा कुल सात सय ५३ स्थानिय तह रहेका छन् ।
जसमध्ये काठेखोला गाउँपालिका प्रविधिको माध्यबाट काम गर्ने पहिलो स्थानिय तह बनेको छ ।
गाउँपालिकाको कामलाई प्रविधिमैत्री बनाउँदै गर्दा केही समस्या भने झेल्नु परेको गौतमको भनाइ छ । ‘अन्य क्षेत्रमा केन्द्र र संघीय सरकारले बजेट छुटाएको हुन्छ तर आइटीको लागि कुनै बजेट छैन ।
पालिकाबाट बजेट छुटाउन समेत समस्या छ ।’ नेपाल सरकारले सफ्टवेयर स्टान्डर नबनाइदिदा कुन सफ्टवेयर प्रयोग गर्ने भन्नेमा समेत समस्या हुने गरेको छ । ‘आइटी बिस्तारमा देखिएको समस्यामा पहिलो बजेटको समस्या र अर्काेमा सफ्टवेयर स्टान्डर नभइदिँदा काममा असहजता हुने गरेको छ ।’
गाउँपालिकाको प्रविधिमैत्री सेवाबाट पालिकाबासीले सहजता महसुस गर्दै आएका छन् । देशभर कागजी सेवा सञ्चालन भइरहँदा काठेगाउँपालिका प्रविधिमैत्री भएको छ । तर यसलाई पूर्ण पेपर लेस नै भन्न नमिल्ने गौतमको भनाई छ । ‘पेपर लेस नै भनेर घोषणा गरेका छैनौं, प्रविधिको प्रयोग भयो भन्दैमा कतै पनि कागज प्रयोग नहुने भन्ने पनि हुँदैन, अन्य स्थानिय तहले पनि प्रविधिको प्रयोग सुरु गरेको भए बल्ल पेपर लेस भन्न सहज हुन्थ्यो ।’