काठमाडौं । पर्यटन क्षेत्रमा संलग्न तामाङहरुको सामुहिक संस्था तामाङ रिमठिम पर्यटन सञ्जालले संस्थाको बिधिवत दर्तापछिको पहिलो बृहत् भेला सम्पन्न गरेको छ । गोकर्ण हाउस रेस्टुरेन्ट ठमेलमा सम्पन्न भेलामा तामाङ समुदायका अग्रज पर्यटन व्यवसायी, पर्वतारोही र पथप्रदर्शकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
कीर्तिमानी पर्वतारोही शम्भु तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको सभापतित्त्व संस्थाका अध्यक्ष अम्बर बम्जनले, कार्यक्रम सञ्चालन महासचिव छेटुप तामाङ र स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष सरिता लामाले गरेका थिए। पर्यटन क्षेत्रमा आबद्ध तामाङहरुबीच यस संस्थाबारे अद्यावधिक जानकारी दिने, सदस्यता बितरण गर्ने र संस्थालाई भविष्यमा कसरी अगाडी बढाउने भन्ने बारेमा मार्गचित्र तय गर्न, पेशागत शसक्तिकरणका लागि के के गर्न सकिन्छ भन्नेबारे छलफल गरिएको थियो ।
साथै कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिमा पर्यटन क्षेत्रमा टिकिरहन के, कस्तो सहकार्य गर्न सकिन्छ भन्ने बिषय बारेभेलामा छलफल भएको थियो । त्यसैगरी उपस्थितहरुमध्ये करिब ४५ जनालाई अध्यक्ष र अतिथिको हातबाट संस्थाको सदस्यताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।