काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बर बनाउने बताएका छन् ।
अनामनगरस्थित होटल बसेरामा कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो समूहबाट विजयी भएका र पराजित भएकाको भेलालाई संबोधन गर्ने क्रममा उनले सो बताएका हुन् ।
अनामनगरस्थित होटल बसेरामा आयोजित भेलामा उनले पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचन र मनोनयन दुवै माध्यमबाट पुगेका नेतालाई बधाई दिँदै उनले सबैको एउटै जोड कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने रहेको बताए ।
कोइरालाले महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले मनोनयन गरेका १३ जना केन्द्रीय सदस्य कुन मापदण्डअनुसार मनोनयन भएका हुन् त्यो आफूले जान्न चाहेको बताए ।
‘महाधिवेशनपछि सभापतिज्यूले मनोनयन गर्नुभएका सबै नेताहरू योग्य र सक्षम नै हुनुहुन्छ । तर, कुन मापदण्डका आधारमा मनोनयन गरिएको हो । यो भने हामी जान्न चाहन्छौं,’ उनले भने ।
डा.कोइरालाले पार्टीलाई विधि र विधानअनुसार सबैको राय सुझावका आधारमा चलाउन नसकिए दुर्घटनामा पर्ने बताए ।
उनले आगामी निर्वाचनलाई मध्यनजर गरेर आफूहरू देशव्यापी रूपमा जनतामाझ जाने पनि घोषणा गरे ।
भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारीलगायतका नेता सहभागी थिए ।