देउवाका लागि शेखर शत्रु र माओवादी मित्र हुनुको कारण के ?

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन भर्खरै सकिएको छ ।

महाधिवेशन सकिएसँगै सभापति शेरबहादुर देउवाले मनोनयनलाई अघि बढाएका छन् ।

योबीचमा प्रधानमन्त्री देउवाले महाधिवेशनमा उम्मेद्वारी नदिएका र मतदानमा भाग नलिएका रामचन्द्र पौडेललगायतलाई केन्द्रीय सदस्यमा मनोनयन गरिरहेका छन् । 

तर, ४० प्रतिशत मत ल्याइ पराजित शेखर कोइरलाको वरीयता २०औँ नम्बरमा राखेका छन् । यसअघि शुशील कोइरालासँग सभापतिमा पराजय भएका देउवाको वरीयता दोस्रो कायम भएको थियो ।

देउवाले आफूहरुलाई शक्तिको रुपमा नस्वीकारेको भन्दै बुधबार छलफलमा जुटेको कोइराला समूहको छलफलले ४० प्रतिशत जनमतलाई पाखा लगाएर देउवा सफल सभापति बन्न नसक्ने बताएको छ ।

साथै यस समूहले राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन भएको र कांग्रेसले कसैसँग गठबन्धन नगरी चुनाव लड्ने निष्कर्ष निकालेको छ ।

सभापतिबाट विधि र विधान मिच्ने काम भएको बताउँदै महामन्त्री थापाले आफूहरुलाई किलो रित्तियो भन्दा पनि बाघ पल्कियो भन्ने चिन्ता लागेको बताए । 

‘शेखर कोइरलाले दोस्रो वरीयताको मत ल्याउनुभएको छ । प्रतिस्पर्धामा उहाँ दास्रो हुनुभएको हो र सोहीअनुसार दोस्रो वरीयतामा राख्ने कांग्रेसको परम्परा हो । हाम्रो मूल्य मान्यतालाई निरन्तरता दिन सभापति चुक्नुभएको हाम्रो ठम्याइँ छ ।

नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले भने । ‘हामी एक ढिक्का भएर नै अगाडि बढ्छौँ,’ उनले भने ।

देउवाको कार्यशैली विधानविपरीत भएको र आफूहरुप्रति हेपाह प्रवृत्ति देखाएको कोइराला समूहको आरोप छ ।

यहीबीचमा कोइराला समूहले आफूहरुलाई पेलेर जान खोजेको बताउँदै चारबुँदे विज्ञप्ति जारी गरेको छ ।

सो विज्ञप्तिमार्फत् देउवालाई सचेत गराउन खोजिएको छ ।

देउवाको शेखरलाई लात प्रचण्डलाई साथ

केही दिनअघि माओवादीको आठौं महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले वर्तमान गठबन्धन मिलेर चुनाव लड्ने उद्घोष गरे ।

गठबन्धन कसैले तोड्न नसक्ने बताउँदै उनले प्रचण्डलाई राजनीतिक हिरोको रुपमा चित्रित गरे ।सो क्रममा उनले आफू यसअघि र अहिले प्रधानमन्त्री हुनुमा प्रचण्डको ठूलो देन रहेको समेत बताए ।

देउवाले गठबन्धन नतोडिने बताइरहँदा कोइराला समूह भने आगामी चुनावमा कांग्रेस कसैसँग चुनावी एकता नगर्ने घोषणा गरेको छ । 

देउवाले पार्टीभित्रको वरीयता र राष्ट्रिय सभाको प्रतिनिधि मनोनय गर्दा गरेको व्यवहारले शेखर समूहलाई लात हानेको छर्लङ्ग छ । सत्ताभित्रको प्रतिपक्षको अनौठो अभ्यास कांग्रेसमा हुँदै छ ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.