रेडपाण्डाका लागि ३५९ रोपनी जग्गा किनेर सरकारलाई प्रदान 
रेडपाण्डा नेटवर्क र उच्चपहाडी संरक्षण संस्थाले रेडपाण्डाको बासस्थान नजिक रहेको जग्गा किनेर सरकारलाई प्रदान गरेको हो ।
इलाम । लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्न व्यक्तिको नाममा रहेको जग्गा किनेर सरकारलाई दिइएको छ । रेडपाण्डा नेटवर्क र उच्चपहाडी संरक्षण संस्थाले रेडपाण्डाको बासस्थान नजिक रहेको जग्गा किनेर सरकारलाई प्रदान गरेको हो ।

दुई वर्षको अवधिमा ३५९ रोपनी १४ आना दुई पैसा एक दाम जग्गा खरिद गरेर डिभिजन वन कार्यालय इलामको नाममा पास रजिष्ट्रेशन पास गरिएको छ । पहिलो वर्ष चार जना व्यक्तिको नाममा रहेको १९८ रोपनी र दोस्रो वर्षसमेत चार जना व्यक्तिको नाममा रहेको १६१ रोपनी १४ आना दुई पैसा एक दाम जग्गा सरकारको नाममा पास गरिएको उच्चपहाडी संरक्षण संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाकले बताए ।

सन्दकपुर गाउँपालिका- ५ को जौबारी, कोप्चे तथा मुर्चुल डाडा क्षेत्रमा व्यक्तिको नाममा रहेको जग्गा खरिद गरेर सरकारलाई प्रदान गरिएको हो ।

रेडपाण्डाको बासस्थान आसपासमा भएको, रेडपाण्डा पाइने सामुदायिक वनको बीचमा भएको व्यक्तिको जग्गा र रेडपाण्डा आउजाउ गर्ने कोरिडोर क्षेत्रमा भएको जग्गा किनेर सरकारको नाममा पास गरिदिएको खाम्दाकले बताए । 

व्यक्तिबाट खरिद गरिएको जग्गामा रेडपाण्डा नेटवर्क र उच्चपहाडी संरक्षण संस्थाको साझेदारीमा वृक्षरोपणको काम थालिएको छ । ‘त्यो जग्गामा रेडपाण्डाले रुचाउने प्रजातिका बिरुवाहरू लगाएका छौँ’, कार्यक्रम संयोजक खाम्दाक भन्छन्, ‘तारबार गरेर संरक्षण थालेपछि खाली रहेको जमिनमा मालिङ्गोलगायतका बिरुवा हुर्किंदै छन् ।’

रेडपाण्डा कोरिडोर क्षेत्रमा अझै पनि व्यक्तिको नाममा खाली जग्गा रहेको र ती जग्गासमेत खरिद गर्नुपर्ने आवश्यकता रहेको खाम्दाकले बताए । ‘सीमासँग जोडिएका अरू पनि जग्गा खरिद गरेर संरक्षण गर्नुपर्ने आवश्यकता छ, ती जग्गासमेत खरिद गरेर सरकारलाई दिने योजनामा छौँ’, खाम्दाक भन्छन्, ‘त्यसका लागिसमेत हामीले योजना बनाइरहेका छौँ ।’ 

व्यक्तिको जग्गा किनेर संरक्षण थालिएपछि रेडपाण्डाको संख्यासमेत वृद्धि भएको खाम्दाकको दाबी छ । ‘पहिले नभेटिने ठाउँहरूमा रेडपाण्डा भेटिएको सूचना छ’, उनले भने, ‘बासस्थान सुधार भएपछि बिस्थापित भएका रेडपाण्डा पनि आउँछन् ।’

व्यक्तिबाट खरिद गरिएको जग्गालाई संरक्षण गरेर रेडपाण्डा बस्न योग्य भएपछि संरक्षणका लागि समुदायलाई नै हस्तान्तरण गरिनेछ । ‘अहिले हामीले नै संरक्षण काम गर्छौं, यसको अवस्था सुधार भएपछि स्थानीय समुदायलाई जिम्मा दिन्छौँ’, खाम्दाकले भने । 

डिभिजनल वन अधिकृत इन्द्रमणि भण्डारीले पनि त्यस क्षेत्रका सामुदायिक वनहरूमार्फत नै संरक्षण गरिने बताए । ‘यी जग्गाहरू सामुदायिक वनसँग जोडिएकै जग्गा हुन्, पछि सामुदायिक वनहरूलाई नै हस्तान्तरण गरेर दिगो रूपमा संरक्षण गर्छौं’, भण्डारीले भने ।

रेडपाण्डा नेटवर्क र उच्चपहाडी संरक्षण संस्थाले व्यक्तिको जग्गा किनेर संरक्षणका लागि सरकारलाई दिएर ठूलो गुन लगाएको जिल्ला वन कार्यालय इलामका वन अधिकृत यामबहादुर रुम्बाले बताए । ‘यो त रेडपाण्डा संरक्षणका लागि ठूलो गुन हो नि’, वन अधिकृत रुम्बाले भने, ‘यसले रेडपाण्डाको संरक्षणका लागि ठूलो महत्त्व राख्छ ।’

डिभिजनल वन अधिकृत भण्डारीले यसले रेडपाण्डाको संरक्षणमा सहयोग पुग्ने बताए । ‘व्यक्तिको जग्गा किनेर रेडपाण्डाका लागि संरक्षण भएपछि टुक्रिएको बासस्थानमा सुधार हुन्छ’, भण्डारीले भने, ‘संरक्षित क्षेत्रमा मानिसको आवतजावत घट्छ, यसले उसको कोरिडर पनि सुरक्षित हुन्छ ।’

रेडपाण्डाको बासस्थान रहेको क्षेत्रलाई संरक्षित क्षेत्र बनाउनुपर्ने भण्डारीको सुझाव छ । ‘रेडपाण्डाको कोर बसोबास भएको क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर मानवीय क्रियाकलापलाई बन्देज गर्नुपर्छ’, उनले भने, ‘स्थानीय सरकार या प्रदेश सरकारबाटै भए पनि यो काम थाल्नुपर्छ ।’

रेडपाण्डाको बसोबास भएको क्षेत्रमा समेत अनियन्त्रित रूपमा विकास निर्माणको काम भइरहेकाले यसको संरक्षणमा चुनौती थपिएको भण्डारी बताउँछन् । ‘यस्तो क्षेत्रमा थप बाटो बनाउने, संरचना बनाउने गर्नुहुँदैन’, उनले थपे, ‘निश्चित क्षेसम्म मात्र सवारी साधन पुर्‍याउनुपर्छ, ठूला सवारी साधनलाई त अनुमति नै दिनुहुँदैन ।’

इलामको सन्दकपुर, माइजोगमाई र इलाम नगरपालिकाको उत्तरी क्षेत्रमा रेडपाण्डा पाइन्छ । त्यसमा पनि रेडपाण्डाको सबैभन्दा ठूलो बासस्थान सन्दकपुर गाउँपालिका क्षेत्रमा पर्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.