मुगुका प्रमुख स्थानमा गुनासो पेटिका
जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा गुनासो पेटिका राखेर सुरुवात गरिएको हो ।

खड्क सुनार

मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले जिल्लामा रहेका मुख्य मुख्य स्थानमा गुनासो पेटिका राखेको छ । शुक्रवारबाट सदरमुकाम गमगढी बजारका मुख्य स्थान राष्ट्रिय बाणिज्य बैक , जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा गुनासो पेटिका राखेर सुरुवात गरिएको हो ।

बढि मात्रा नागरिकहरूको चहलपहल हुने स्थान र सबैलाई पायक पर्ने स्थानमा गुनासो पेटिका राखिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयकाअनुसार अहिले सदरमुकाम गमगढी बजारका तीनवटा स्थानमा राखिएको छ ।

अब अन्य स्थानीय तह, स्वास्थ्य चौकी, वडाहरुको मुख्य मुख्य स्थानमा राखिने प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए । उनकाअनुसार उक्त गुनासो पेटिकामा नागरिकले जस्तोसुकै उजुरी हाल्न पाउने छन् ।

विगतका वर्षहरूमा जिल्लामै आएर उजुरी दिनुपर्ने अवस्थालाई मध्येनजर गर्दै कार्यालयले सम्बन्धित् स्थानमै राखेर नागरिकहरूले सहजै रुपमा उजुरी दिन सक्नेछन् । गुनासो पेटिकामा परेका उजुरीलाई हप्ता हप्ता पिच्छे खोलेर हेर्न नीति रहेको डिएसपी भट्टराईले बताए ।

जिल्लामा रहेका छायानाथ रारा नगरपालिकाका मुख्य स्थान, सोरु, खत्याड, मुगूम कार्मारोङ गाउँपालिकाका स्थानमा राखिनेछ । यसले गर्दा नागरिकहरुको अधिकारलाई प्रत्याभूति गर्न सकिने प्रहरीको भनाइ छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.