देउवासँग करिब एक घन्टा कुराकानीपछि के भन्छन् ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिसँग भएका कुरा भएर सकिएको बताएका छन् ।

शनिबार अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका देउवासँग करिब एक घन्टा कुराकानीपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले सो टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कुराकानी राम्रो भएको बताउँदै भने, ‘उहाँसँग कुराकानी भयो, सद्धियो नि त। कुराकानी राम्रो भयो दुई जनाबीच।’

शुक्रबार बसेको गठबन्धनको बैठकको निर्णयबमोजिम देउवा शनिबार प्रतिपक्षी दलका अध्यक्ष ओली भेट्न बालकोट पुगेका थिए ।

प्रधानमन्त्री बालकोट पुग्नुअघि वर्तमान परिस्थिति सहज गराउन भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल ओली निवास पुगेका थिए ।

तर, उनलाई ओलीले म आफैँ प्रधानमन्त्रीसँग कुरा गर्छु भन्दै फर्काइदिएका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.