मानिसका आ–आफ्नै परिस्थिति र बाध्यता हुन्छन् । त्यही कठिन परिस्थितका बाबजुत सफलता हासिल गर्नु महानता हो ।
असल जीवलशैली सकारात्मक परिवर्तनका लागि मानिसले संघर्ष गरिरहेको हुन्छ । मानिसलाई असल बनाउने दिव्यज्यति शिक्षाबाट प्राप्त हुन्छ ।
कतिपय अवसर पाएर अध्यन (पढ्न) गर्न अल्छी गरिरहेका हुन्छन् भने कतिपय पैसाको अभावमा अध्यनलाई अगाडि बढाइरहेका हुन्छन् । यस्तै, अभावमा अध्ययनलाई अगाडि बढाइरहेकी छिन् दीक्षिका बयरकोटी ।
स्थायी घर सिन्धुली भएकी बयरकोटी १२ वर्षकी भइन् । हाल उनी सरकारी विद्यालयमा कक्षा पाँचमा अध्ययनरत छिन् ।
बयरकोटी विद्यालय बिदा भएको दिन र हरेक मंगलबार बिहान सात बजेदेखि बेलुका आठ बजेसम्म र बिदा नभएको दिन काठमाडौं न्युरोडस्थित संकटा मन्दिरमा बत्ती बेच्छिन् ।
त्यसबाट आर्जेको पैसा उनी पढाइमा खर्च गर्छिन् ।
बुबा-आमाले नजानु भन्दा पनि बयरकोटी बत्ती बेच्न पुग्छिन् । सोबाट प्राप्त रकम उनले विगत दुई वर्षदेखि कापी-किताब र टिफिन खर्च चलाउँदै आइरहेकी छिन् ।
‘बुबा-आमाले नजाऊ त भन्नु हुन्छ । तर, बुबाले कमाएको पैसाले पढाइ र घरखर्च चल्न गाह्रो भएपछि आफैँ बत्ती बेच्न आएकी हुँ,’ उनी भन्छिन् ।
मंगलबार र शनिबार दिनभर बत्ती बेच्दा उनले हप्ताको एक हजार कमाउँछिन् ।त्यसको केही अंश बत्ती किन्न खर्च गर्छिन् भने बाँकी पैसा पढाइमै खर्चिन्छिन् ।
शनिबार दिउँसो पनि उनी मन्दिरमै थिइन् । साँझ ढल्किँदै गर्दा चिसो बढिरहेको थियो । तर, उनको शरीरमा न्यानो कपडा थिएन ।
मन्दिरमा आउने भक्तजनहरुसँग उनी बत्ती किनिदिन अनुरोध गरिरहेकी हुन्थिइन् । तर, उनको समस्या सबकोहीले बुझिरहेका थिएनन् ।
आफूसँग पैसा नहुँदा विद्यालयमा घटेको घटनाले उनलाई साह्रै पोल्छ । त्यही घटनाका कारण उनले काम गर्दै अध्यन गर्न थालेकी हुन् । बिहान कमाएको पैसाले उनको विद्यालयको टिफिन धान्छ ।
उमेरले सानै भए पनि उनमा दृढ विश्वास छ ।
‘बुवा भारी बोक्ने काम गर्नुहुन्छ । आमा घरमै बस्नुहुन्छ । बुबाले कमाएको पैसाले कोठा भाडा र खाना मात्र पुग्छ,’ उनी भन्छिन्, ‘परिवारमा बुबा–आमा, दिदी र सानो भाइ छ । अर्की बिहिनी पनि जन्मिएकी थिई, तर ऊ अहिले हामीसित छैन ।’
उनकी दिदी भर्खर कक्षा आठमा पढ्दैछिन् । तर, उनका दाजुको कुनै टुंगो छैन ।
कोरोना बढेसँगै उनलाई लकडाउन हुने पो कि भन्ने पीरले सताउँछ ।
वास्तवमा संसार विचित्र छ । कसैको आँखामा आसु नै आसु त कसैको मुहारमा खुशी नै खुशी । कोही बसी–बसी पैसाले पैसा कमाउँछन् त कोही कठिन काम गरेर पनि दुःखले बाँचिरहेका हुन्छन् ।