सीपी लोहिय
बैतडी । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ ।
पाटन नगरपालिका ८ झौलेकमा गुडिरहेको सुप.प्र.२००१ ख ११५६ बसमा मंगलबार बिहान सडकमाथिबाट ढुंगा खसेको हो । बसमा ढुंगा खस्दा बझाङको थलारा गाउँपालिका ५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
बस महेन्द्रनगरबाट बझाङका लागि छुटेको थियो । मंगलबार बिहान साढे दुईबजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे बझाङ सडक खण्डको झौलेकमा सडकमाथिबाट ढुंगा खसेको हो ।
ढुंगा लागेर अन्य तीन जना घाइते भएको प्रहरी निरीक्षक खड्काले बताए । घाइते हुनेमा बझाङको जयपृथ्वी नगरपालिका ११ का ४० बर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका ४ का २८ वर्षीय माधव भट्ट रहेका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।