'तपाईंको मास्क खाेई' भन्ने अभियानसहित राजविराजमा मास्क वितरण

राजविराज । राजविराजको मुटु मानिने गजेन्द्रनारायण चोकमा सामुदायिक सेवा केन्द्रले 'तपाईंको मास्क खाेई' अभियान सञ्चालन गरेको छ । 

सो संस्थाले बुधबार जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । सो जनचेतनामूलक कार्यक्रममा एक हजार नौ सय ६० थान मास्क वितरण गरिएको थियाे।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी श्रीजनार्दन गौतमले मास्क नलगाई हिडिरहेका तीन व्यक्तिलाई मास्क वितरण गरेका थिए ।

सो क्रममा प्रजिअ गौतमले मास्क अभियानलाई व्यापक बनाउनुपर्नेमा जोड दिँदै सप्तरीका सिमानाकामा पनि मास्क अनिवार्य अभियान सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए । 

लकडाउनको उल्लंघन गर्ने गरी यातायातको साधन चलाएमा दुईपांग्रे गाडीलाई दुई हजार र चारपांग्रे गाडीलाई पाँच हजार जरिवाना तिर्नुपर्ने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

 
सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रजिअ गौतम रहेका थिए भने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अभिनारायण काफ्ले विशिष्ट आतिथि रहेका थिए ।

कार्यक्रममा जिल्ला जन स्वास्थ्य निमित्त कार्यालयका प्रमुख दुनियाँलाल यादव, मानवअधिकारकर्मी मनोहर पोखरेल, पत्रकार महासंघका अध्यक्ष श्रवण देव,सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भंसाली, र नेपाली सेनाको मेजरको आतिथ्यता रहेको थियो।

© 2021 Quicknepal.com  |  All Rights Reserved.