काठमाडौं । जयसिंह धामी तुइन चुटिएर महाकाली नदीमा बेपत्ता भएको आज पाँच महिना १४ दिन पुगेको छ ।
दार्चुला ब्यास गाउँपालिका–२ बस्ने ३३ वर्षीय जयसिंह धामी नेपाली भूमि मालघाट र भारतीय भूमि गास्कु पांगुल जोड्ने महाकाली नदीको तुइन तर्ने क्रममा श्रावण १५ मा भारतीय सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा बेपत्ता भएका थिए ।
सरकारले घटनाबारे छानबिनका लागि जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति बनाएको थियो । सो टोलीले प्रतिवेदन पनि तयार पार्यो ।तर, विभिन्न बाहनामा नेपाल सरकारले सो प्रतिवेदन सार्वजनिक गरेको छैन ।
घटनाबारे छानबिनका लागि नेपाल सरकारले परराष्ट्रमार्फत् भारतलाई पत्राचार गरेको छ । तर, अहिलेसम्म भारत सरकारले कुनै चासो देखाएको छैन । यसका अलावा नेपाल भारत दुवै सरकारले यो विषय बाहिर ल्यउन चाहिरहेका छैनन् ।
यसअघि नेपालले सो ठाउँमा पुल बनाउन खोज्दा भारतले विभिन्न बाहनामा रोक्दै आएको थियो । तर, जयसिंह धामी घटना प्रकरणसँगै सो ठाउँमा पुल बनाउन भारतले उदारता देखाएको छ ।
केही दिनअघि मात्रै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएपछि भारतले मन्त्रिपरिषदबाट भारत र दार्चुला जिल्ला जोड्ने पुल बनाउन पहल गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, नेपाल सरकार तथा मन्त्रिपरिषदले पनि भारत र दार्चुला जोड्ने पुल बनाउन भारतसँग पहल गर्ने भनी निर्णय गरेको छ ।
जयसिंह कसरी महाकालीमा झरे ?
घटनाको नालीबेली वडाध्यक्षकै शब्दमा
दार्चुला जिल्लाको ब्यास गाँउपालिका–२ बस्ने दली धामीको छोरा ३३ वर्षीय जयसिंह धामी काठमाडौं हिँडेका थिए ।
काठमाडौं जाँदा महाकाली नदी तरेर जानुपर्छ । महाकालीवारि नेपालतिरको भागमा मालघाट भन्ने ठाउँ छ । त्यसैगरी तुइन तरेपछि भारतीय भूमि गास्कु पांगुला पुगिन्छ । यो स्थान भारतको धार्चुला जिल्लामा पर्छ । धार्चुलाको केही भूमि हुँदै हाम्रो जिल्ला सदरमुकाम दार्चुला जानुपर्छ ।
सो क्रममा धामी तुइन तर्ने क्रममा भारतीय एसएसपीले तुइन चुडाइदिँदा धामी नदीमा बेपत्ता भएका थिए ।
‘२०७८।०४।१५ गते शुक्रबार बिहान करिब ९ः१५ बजेतिर जयसिंह धामी नदी तर्न तुइनमा चढेपछि पारि (भारतीय भूभागमा) पुग्नै लाग्दा, करिब २/३ मिटर जति बाँकी हुँदा भारतीय एसएसबीका २ जना सुरक्षाकर्मी अघिपछि गर्दै आए । तीमध्ये एकजनाले तुइनको डोरी खुस्काइदिएका थिए । जुन दृश्य नेपाली भूभाग (वारि)बाट स्थानीयले स्पष्टसँग देखिरहेका थिए ।
तुइन (तार) फुकालेपछि तार लत्रिँदै नदीमा पर्यो । जयसिंह धामी महाकाली नदीमा खसे । प्रत्यक्षदर्शीले हारगुहार गर्दागर्दै जयसिंह धामीलाई महाकाली नदीले बेपत्ता पार्यो । धामीलाई बगाएपछि भारतीय एसएसबी त्याहाँबाट भागे ।
के छ, मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा
घटनापश्चात् संघीय सरकारले छानबिन समिति बनायो । सो समितिले प्रतिवेदन पनि तयार पार्यो ।
तयार प्रतिवेदन समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको छ । तर, प्रतिवेदनमा एसएसबीको भूमिका किटान गरिएको छैन ।
गृहमन्त्रालयका अनुसार समितिको प्रतिवेदनमा ‘एसएसबी जवानको उपस्थितिमा घटना भएको’ मात्र भनिएको छ ।
स्रोतका अनुसार प्रतिवेदन बुझाउनुअघि छानविन समितिका संयोजक सहसचिव जनार्दन गौतम र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको थियो ।
के भन्छन्, प्रत्यक्षदर्शी
छानबिन समितिले बयान लिएका सम्पूर्ण प्रत्यक्षदर्शीले एसएसबीका जवानले तुइनको तार खुस्काएपछि धामी महाकाली नदीमा खसेको बताएका छन् ।
तुइनको तार नखुस्काउन आग्रह गर्दागर्दै एसएसबीले तार खुस्काइदिएको थियो ।
जयसिंहभन्दा अघि महाकाली तरेका चार जनाले पनि एसएसबीले तुइनको तार फुस्काएको बयान दिएका थिए ।
प्रत्यक्षदर्शीहरुले एसएसबीका जवानले तुइनको तार काटेकै कारण उनी नदीमा खसेको बताएपछि सरकारले घटनाको अनुसन्धान गर्न १७ साउनमा १० दिनको समय दिएर छानविन समिति बनाएको थियो ।
समितिले स्थलगत अध्ययन गर्नुका साथै प्रत्यक्षदर्शीसँग बयान लिएको थियो ।
तर पटकपटक म्याद थपेको भन्दै आलोचना भएपछि मात्रै छानविन समितिले प्रतिवेदन बुझाएको थियो । वर्तमान समयमा यसको विषयमा कुनै काम अघि सरेको छैन ।
के भन्छ स्थानीय सरकार
ब्यास गाउँपालिकाका सूचना अधिकारी शिवराज बडूले केन्द्र सरकारले पीडितको परिवारलाई १० लाख दिने भनिए पनि अहिलेसम्म कार्यान्वयन नभएको बताए ।
त्यसैगरी, वडा नं २ का अध्यक्ष धिरनसिंह बुढाथोकीले गाउँपालिकाको तर्फबाट वडा–२ मार्फत् पच्चीस हजार किरिया खर्चबापत उपलब्ध गराएको बताउँदै भारत तथा नेपाल सरकारले कुनै पनि किसिमको राहत नदिएको बताए ।
‘शव नभेटिए पनि मुत्युदर्ता गरेर उहाँको श्रीमतीलाई विदुवा भत्ता दिएका छौँ । बालबालिका सानै छन्,पढाउन व्यवस्थापन गर्ने भन्ने विषयमा सल्लाह भइरहेको छ,’ ‘घटना भारतीय पक्षको लापरबाहीका कारण घटेको हो । तर, उसले अझै स्वीकारेको छैन। स्पष्टीकरण दिएका छैन । बरु ढाकछोप गरिरहेको छ,’ वडाध्यक्ष धिरनसिंह बुढाथोकीले क्विक नेपालसँग भने ।
यो विषय केन्द्रीय तहबाटै कूटनितिक पहलमर्फत् टुंग्याउनुपर्ने बताउँदै भने, ‘ सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्ने हो । तर, अहिलेसम्म त्यसो हुन सकेको छैन ।’
घटना घटेपछि रोकिएको झोलुंगे पुल निर्माण कार्य अहिले धमाधम भइरहेको उनले बताए ।
के भन्छ केन्द्रीय निकाय
गृहमन्त्रालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जयसिंह धामी घटना प्रकरणबारे परराष्ट्रमन्त्रालयमार्फत् कूटनीतिक पहलका लागि पत्राचार गरे पनि सोबारे कुनै कदम अघि नबढेको जानकारी दिए ।
उनले भने, ‘अहिलेसम्म कुनै पनि प्रतिक्रया आएको छैन । तर, कूटनीतिक पहल भइरहेको छ ।’
अनुसन्धान र क्षतिपूर्ति दिलाउन भारतसँग कूटनीतिक पहल गर्ने भनिए पनि पछिल्लो समय यो विषय प्राथमिकतामा नपरेको गृहमन्त्रालयको भनाइ छ ।