सीप परियोजना सञ्चालन गर्न एक अर्ब ८८ करोड अनुदान
उक्त परियोजनामा ७० हजार युवायुवतीले प्राविधिक तथा व्यवसायीक तालिम प्राप्त गर्नेछन् ।

काठमाडौं । स्वीट्जरल्याण्ड सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना सञ्चालन गर्न नेपाललाइ एक अर्ब ८८ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।

प्रदेश नं १, बाग्मती, लुम्बिनी तथा ३३ स्थानिय सरकारमार्फत प्राप्त रकमबाट सीप परियोजना सञ्चालन गरिनेछ । उक्त परियोजनामा ७० हजार युवायुवतीले प्राविधिक तथा व्यवसायीक तालिम प्राप्त गर्नेछन् ।

औद्योगीक प्रशिक्षार्थी तालिम, अल्पकालिन पेशागत तालिम, कामदारको सीप अभिवृद्दि, पेशागत तालिमका निम्ति आवश्यक परामर्श, शैक्षिक क्षेत्र र रोजगारदाता समेत परियोजना मार्फत कार्यान्वयन हुने अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुख धनिराम शर्माले बताए ।

अनुदान सहयोगसम्बन्धि सम्झौतामा महाशाखा प्रमुख शर्मा र नेपालस्थित स्वीट्जरल्याण्डका कार्यबहाक राजदूत सिल्भाना हगले हस्ताक्षर गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.