ताप्लेजुङमा तेस्रो पटक हिमपात

ताप्लेजुङ । ताप्लेजुङमा तेस्रो पटक हिमपात भएकोछ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाईमा अवस्थित फक्ताङलुङ  गाउँपालिका–७ याङमा तीन हजार ४०० सय मिटर उचाई क्षेत्रका बस्तीहरूमा बुधबार रातिदेखि बाक्लो हिमपात भएको हो ।  

हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएका घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए । हिमपातले जनजीवन प्रभावित हुनका साथै पशुचौपाय समेत प्रभावित भएका टासी तेन्जीले शेर्पाले बताए ।

हिमाली क्षेत्रमा प्रमुख पुर्ख्यौली पेसाको रुपमा पशुपालन गर्दै आएको छ । तर, हिमपातको समय पशु जोगाउन मुस्किल पर्ने शेर्पाले बताए । सबैभन्दा याक चौँरीको बाछाबाछीहरूलाई हिमपातको समयमा जोगाउने समस्या हुने शेर्पाको भनाइ छ । 

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुगोला र भले, ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपात भएको छ ।  मिक्वाखोला गाउँपालिका(६ तोक्पेगोला र पापुङ बस्तीहरूमा समेत हिमपात  भएको मिक्वाखोला गाउँपालिका–६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए ।

त्यस्तै समुद्र सतह देखि तीन हजार ७९४ मिटर उचाईमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ ।हिमपात भएसँगै यता सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ ।

ताप्लेजुङमा पहिलो पटक १३ र १४ पुसमा र देस्रो  २९ पुसमा गते हिमापात भएको थियो । अहिले ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको हो । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.