काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यतिखेर छड्के अनुगमनका कारण चर्चामा छन् । मिडिया प्रचारवाजी गर्ने शैलीमा बतास समूहमाथि खनिएका मन्त्री आलेले भित्र–भित्रै कमिशनको चलखेलमा धेरै निर्णय आफूअनुकुल गरिरहेको तथ्य सार्वजनिक भएको छ ।
संसारा कम्पनीका मालिका सुरज वैद्यलाई लुम्बिनी क्षेत्र विकास कोषमा रिसोर्ट बनाउन जग्गा दिन लागेको विषय होस या पशुपति क्षेत्र विकास कोष परिसरमा सांसद लक्ष्मण लम्सालसहितको समूहले चलाएको क्याफेको करोडौं रुपैयाँ भाँडा मिनाह गरेर मन्त्री आलेले कमिशनका लागि चलखेल गरेको देखिन्छ ।
यतिखेर उनले आफूनिकटकालाई नयाँ क्यासिनो संचालनका लागि अनुमति दिने निर्णय गरेकोप्रति सबैको ध्यानाकर्षण भएको छ ।
कोरोना कहरको समयमा देशभरका क्यासिनोहरु बन्द छ । सोही मौकामा मन्त्री आलेले नयाँ क्यासिनोको लागि धमाधम अनुमती दिइरहेको छ । आफू नेतृत्वको निर्णय गर्दै उनले क्यासिनोको लाइसेन्स धमाधम बाँडिरहेको बताइएको छ ।
पर्यटन विभाग र मन्त्रालयकै शाखाहरुलाई सो अधिकार नदिई आफ्नै तरिकाले मन्त्री आलेले क्यासिनोको लाइसेन्स बाँडेका हुन् ।
मन्त्री आलेको मन्त्री स्तरीय निर्णयबाट कार्तिक २ गते झापाको मेचीनगरस्थित होटल मेची क्राउनमा सञ्चालन हुने गरी ‘क्यासिनो भेगास’, कार्तिक ९ गते नेपालगञ्जको होटल स्नेहामा रहने गरी ‘क्यासिनो बेल्लिज’लाई मन्त्री आलेले लाइसेन्स दिएका छन् । काठमाडौँको होटल मल्लस्थित ‘बेल्लिज क्यासिनो’कै स्वामित्वमा रहने क्यासिनो रहेको बुझिएको छ ।
मन्त्री आलेले कार्तिक १२ गते नेपालगञ्जकै होटल स्टारस्थित ‘भेन्यू रिक्रिएसन’लाई क्यासिनोको अनुमति दिए । यस्तै नेपालगञ्जकै होटल सिटी प्यालेसस्थित ‘केपीएफ इन्टरटेनमेन्ट’लाई पौष १४ गते मिनि क्यासिनोको लाइसेन्स दिएका मन्त्री आलेले पौष १६ गते नेपालगञ्जकै होटल कल्पतरुस्थित ‘ॐ त्रयम्बकम्’ क्यासिनोलाई नयाँ लाइसेन्स दिए ।
मन्त्रालयले यसअघि क्यासिनोलाई निरुत्साहित गर्ने र क्यासिनोहरुबीच हुन सक्ने अस्वस्थ प्रतिस्पर्धालाई रोक्न लाइसेन्स दिने काम रोकिएको थियो ।
तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई र पर्यटन सचिव यादव कोइरालाले विवादास्पद छविका व्यवसायी बलराम सापकोटाले क्यासिनो सञ्चालनको अनुमति माग गर्दै दिएको निवेदन रोकिदिएका थिए ।
सम्पत्ति शुद्धिकरणको मुद्दा खेपिररहेका सापकोटाले झापा मेचीनगरस्थित होटल मेची क्राउन प्लाजामा क्यासिनो खोल्न अनुमति माग गरेको भएपनि तत्कालिन मन्त्री भट्टराई र सचिव कोइरालाले रोकेका थिए । तर, आलेले मन्त्री हुनासाथ अनुमति दिए र अहिले उक्त होटलमा क्यासिनो भेगास सञ्चालनमा आइसकेको छ ।
मन्त्री आलेले सम्पत्ति शुद्धीकरणमा मुद्दा नै झेलिरहेका व्यक्तिलाई लाइसेन्स दिएपछि मोटो रकमको चलखेल भएको अनुमान छ । सापकोटाविरुद्ध १७ करोड ५२ लाख ७७ हजार २६० रुपैयाँ अवैध सम्पत्ति रहेको दाबीसहित सम्पत्ति शुद्धीकरण विभागले २०७७ असोज १९ मा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बलराम सापकोटा ‘बले’नामले चिनिने गुण्डा नाईके पनि हुन् । क्यासिनो किङ भनिने बलेविरुद्द मात्रै नभई, उनकी श्रीमति सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५८ लाख ६४ हजार ७४४ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो । यस्तो अवस्थामा पनि मन्त्री आलेले कमिशनको चलखेलमा लाइसेन्स बाँडेको स्रोतको दावी छ ।