कैलाली । नेपाल सरकारले सार्वजनिकस्थलमा खोप कार्ड अनिवार्य भनेपछि नेपालभरका खोप केन्द्रमा खोप लगाउनेको भीड बढेको छ ।
खोप लगाउन गएकाहरुले खोप केन्द्रमा स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम नगरी लाइनमा झुमिएका हुन्छन् । जसले गर्दा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गइरहेको छ । कोरोनाको नयाँ भेरियन्टले दिनप्रति दिन नयाँ रेकड रच्दै छ ।
यसै क्रममा कैलालीमा कोरोनाविरुद्धको खोप लगाएका एक पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको लगभग एकदेखि डेढ घण्टामै मृत्यु भएको हो ।
रामदास डगौरा नाम गरेका उनी आफ्नो सानो छोरासँग सकुशल हिँडेर स्वास्थ्य कार्यलय खोप लगाउन गएका थिए । खोप लगाएर उनी आफ्नो छोरा र वडा सदस्यसँग गफ गर्दै घरतिर फर्केको प्रत्यक्षदर्शी भीम तिरुवाले क्विक नेपाललाई बताए ।
बाटोमा हिँड्दा-हिड्दै अचानक बेहोस भएका उनको मृत्यु घटनास्थलमै भएको थियो ।
रामदास घरमा आफ्नो कान्छो छोरोसँग बस्दै आएका छन् । उनको चार सन्तान भएता पनि एक छोरीको बिहे भइसकेको र अर्का एका छोरा र छोरी घरबाहिर बस्दै आएका छन् । उनकी श्रीमतीको आज भन्दा ७, ८ वर्ष पहिले नै मुत्यु भइसकेको छ ।
भीम तिरुवाका अनुसार उनमा अहिलेसम्म कुनै पनि रोग नभएको बताए ‘भित्री रुपमा के रोग थियो थाहा छैन । तर, बाहिर देख्दा उनी स्वस्थ थिए ।’
रामदास हिँडेर नै आएको र हिँडेर नै गएको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले बताए । उनले भेरोसेलको पहिलो खोप मंसिर पहिलो साता लगाएको र दोस्रो मात्रा आज लगाएको स्वास्थ्य शाखा प्रमुखको भनाइ छ ।
यो घटनाको जिल्ला प्रशासन, एइयफआई फाराम भरेर डब्लुएचओलाई जानकारी गराइसकेको उनी बताउँछन् । डब्लुएचओको चिकित्सक आइसकेपछि छानबिन गर्ने र शवको पोस्मार्टम गर्ने उनले क्विक नेपाललाई बताए ।
‘खोपको सन्दर्भमा सबै छानबिन डब्लुएचओले नै गर्छ,’ उनले भने ।
यद्यपि, उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारणले हो भन्नेबारे खुलिसकेको छैन ।