काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका-९ घर भएका २२ वर्षीय केशव तिमल्सिनालाई धारिलो हतियार कैँची प्रहार गरी घाइते बनाएको अभियोगमा मोरङ घर भई हाल भक्तपुर सूर्यबिनायक बस्ने ३३ वर्षीय बिनोद आचार्यलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले तिमल्सिनालाई कैँची प्रहारबाट घाइते भएको अवस्थामा फेला पारी उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल हुँदै थप उपचारको लागि वीर अस्पताल पठाएकाे छ ।
घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।