२०७९ को चैत्रसम्म स्थानीय चुनाव गर्न सकिने माधव नेपालको दावी, एमालेविरुद्ध पाँच दलको मोर्चा कायमै रहने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अर्को बर्षको चैत्रसम्म स्थानीय तहको निर्वाचन गर्न सकिने कानूनी व्यवस्था रहेको बताएका छन् ।

संविधानको धारा २२५ र कानूनी सुविधा अनुसार असोजमा स्थानीय तहको कार्यकाल सकिन्छ । 

त्यसको ६ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ । त्यस कारण अर्को बर्षको चैत्रसम्म स्थानीय तहको निर्वाचन गर्न सकिने भन्दै नेता नेपालले आफ्नो धारणा राखेका छन् ।

रामेछापमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आगामी बर्षको चैत्रसम्ममा निर्वाचन जाने कानूनी प्रावधान भएपनि मंसिरमै तीनै तहको निर्वाचन गर्ने गरि छलफल भइरहेको बताएका छन् ।

सत्ता गठबन्धन दलबिच सहमति कायम रहेको बताउँदै नेता नेपालले आगमी मंसिरमा तीनै तहको निर्वाचन गर्ने र गठबन्धनको पाँचै दलको सहकार्य निरन्तर हुने दावी गरेका छन् ।

नेकपा एमालेको शक्ति वितण्डा मात्रै भएको बताउँदै नेता नेपालले मंसिर अघि निर्वाचन नहुने र त्यसको लागि पनि अहिले नै तयारी थाल्नुपर्ने बताएका छन् ।

२०७४ असोज ७ गते स्थानीय तहको अन्तिम मत परिणाम आएकोले त्यसैलाई आधार मानेर अर्को चैतसम्म चुनाव गर्नुपर्ने अध्यक्ष नेपालले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.